
काठमाडौं । झण्डै एक साताको रुस भ्रमण सकेर नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) पुलकित हँुदै बिहीबार देश फर्किए । रुसले आफूलाई एसियाको नेताका रूपमा परिचय गराएकोमा उनी प्रसन्न देखिन्थे । उनले भने, मलाई आयोजकले सम्मानका साथ परिचय गराए । एसिया नेता, युद्धको कमान्डर अनि शान्ति प्रक्रियाको नेता अनि गणतन्त्रपछिको पहिलो प्रधानमन्त्री भनिदिँदा सहभागीमाझ आकर्षणको विषय भएको थियो ।’
प्रचण्ड रुसको सत्तारुढ दल युनाइटेड रसियाद्धारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन ‘फर द फ्रिडम अफ नेसन्स’मा सहभागी हुन नोभेम्बरको दोस्रो साता मस्को गएका थिए । नोभेम्बर १४ देखि १७ सम्म चलेको उक्त सम्मेलनमा ७६ देशका झण्डै पाँच सय प्रतिनिधिहरू सहभागी थिए ।
प्रचण्ड नफर्किँदै उनले सम्मेलनका बोलेका अभिव्यक्तिले सामाजिक सञ्जाल गर्माएको थियो । खासगरी उनको ‘नेपाली भूमि अन्तर्राष्ट्रिय भूराजनीतिको क्रिडास्थल होइन’ भन्ने अभिव्यक्तिले धेरैको ध्यान खिच्यो । नेपालमा भूराजनीतिक चलखेल बढिरहेको आशंका भइरहेका बेला रुस पुगेर प्रचण्डले दिएको उक्त अभिव्यक्ति ध्यान खिच्ने खालकै थियो । उनले भनेका थिए, ‘भारत र चीनको बीचमा रहेको सार्वभौम, भूपरिवेष्टित विकासोन्मुख देशका रुपमा नेपाल स्वतन्त्र, असंलग्न र परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ । हाम्रो भूगोल साझा समृद्धिको लागि पुल बन्नुपर्छ, भूराजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल होइन ।’ सम्मेलनमा उनले राष्ट्रको आर्थिक, राजनीतिक स्वाधीनताका कुरा गरे, बहुधु्रवीय विश्व व्यवस्थाको वकालत गरे, आर्थिक विकास र समृद्धिको सहकार्यको कुरा पनि गरे ।
प्रचण्ड रुसबाट फर्केपछि राजनीतिक वृत्तमा उनको भ्रमणले प्रश्न उठाएको छ । के प्रचण्डले हौसिएर दाबी गरेजस्तै उक्त सम्मेलनमा उनको उपस्थिति नेपालका लागि पनि अर्थपूर्ण थियो ? उनको यो भ्रमण विगतका अरु कम्युनिस्ट नेताको जस्तै एउटा अर्को भ्रमणमात्रै हो कि यसमा केही अन्तर्निहित सन्देशहरू पनि लुकेका छन् ?
त्यसो त नेपाली नेताहरू विदेश भ्रमण भनेपछि मरिहत्ते गर्छन् । अझ कम्युनिस्ट नेताहरू त विदेश भ्रमण कहिले र कहाँ पाइन्छ, त्यसकै पछि कुदिरहेका हुन्छन् । ठिकठाकै नेता प्रतिनिधि भएर जाने कार्यक्रममा पनि शीर्षनेताहरू नै गइरहेको अनेक नजीर भएको जानकार बताउँछन् । नेपाली कम्युनिस्ट पार्टीको विदेश विभागसँग सम्बद्ध एक नेता भन्छन्, ‘दिनमा दुईतीन जना नेताले कतै विदेशमा कार्यक्रम छैन भनेर फोन गर्छन् । मिलाइदिन आग्रह गर्छन् ।’
के प्रचण्डको रुस भ्रमण पनि के त्यस्तै श्रेणीको त होइन ? सत्ताविमुख भएर केही फुर्सदिला प्रचण्डको लागि रुस भ्रमण कतै ‘रिफ्रेसमेन्ट टूर’ हो कि यसको कुनै राजनीतिक अर्थ पनि छ ? यिनै प्रश्नमा यो विश्लेषण केन्द्रित छ ।
प्रचण्ड सहभागी रुसी कार्यक्रममा उनको सहभागिताका मुख्य दुई कारण हुनसक्छन् । पहिलो, रुस आफ्नो अन्तराष्ट्रिय राजनीतिक सम्बन्ध विस्तार गर्न चाहन्छ । रुस–युक्रेन युद्धपछि पश्चिमी मुलुकहरूसँगको रुसको सम्बन्ध तिक्तता र तनावपूर्ण छ । यो अवस्थामा सायद उसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुक र राजनीतिक दलसँगको सम्बन्ध विस्तार गर्न चाहेको हुनुपर्छ । ती देशका नेताहरूलाई निरन्तर सम्बन्ध र सम्पर्कमा राखिराख्न चाहन्छ । मस्कको अन्तर्राष्ट्रिय रणनीतिको सम्भवतः यो एउटा पाटो हो ।
दोस्रो, जसरी रुसको सम्बन्ध विकास र विस्तारको रणनीति हो, प्रचण्ड पनि आफ्नो र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विकास र विस्तारमा केन्द्रित हुन चाहन्छन् । प्रचण्ड अहिले सत्ता बाहिर छन् । यो बेला अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनु भनेको सम्बन्ध निर्माण विस्तार र आफ्नो पहिचान अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर हुनसक्छ । हुन त पार्टीगत तहमा औपचारिक द्धिपक्षीय संवाद र भेटघाट भएको छैन । तथापि उनको यो अन्तर्राष्ट्रिय राजनीतिक सम्पर्क विस्तारको एउटा अभ्यास हो ।
त्यसो त ऐतिहासिक हिसाबले हेर्दा नेपालका कम्युनिस्ट पार्टीका लागि रुस राजनीतिक सम्पर्कस्थल नै हो । कुनै बखत थियो, नेपालका कम्युनिस्टहरू रुसमुखी र चीनमुखी भनेर आपसी अन्तर्विरोधमा हुन्थे । नेपाली कम्युनिस्टहरूमा मस्को र बेइजिङ दुवैको वैचारिक, राजनीतक प्रभाव रहँदै आएको छ ।
२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको हो । त्यो स्थापनाका पछाडि विश्व कम्युनिस्ट आन्दोलनको प्रभाव जोडिएको थियो । विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व र वैचारिक प्रभावका दुई केन्द्र थिए, तत्कालीन सोभियत संघ हाल रुस र चीन । नेपालको कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझी धार मस्कोवादी थियो भने पुष्पलाल र तुलसीलाल अमात्य समूह वेइजिङसँग निकट मानिन्थ्यो । कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनसम्म आइपुग्दा यी भिन्न धारका कारण विभाजित नै भए । विभाजनका अरु कारण पनि थिए । यद्यपि नेपाली कम्युनिस्टमा यी दुई धारको प्रभाव विगतमा थियो ।
तर सोभियत संघको विघटनसँगै नेपाली कम्युनिस्ट आन्दोलनमा मस्कोको वैचारिक प्रभाव किनाराकृत भयो । त्यसपछिको कालखण्डमा नेपाली कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय राजनीतिक सम्पर्कका चीनको भूमिका बढी देखिन थाल्यो । रुससँगको सम्बन्ध कूटनीतिक औपचारिकतामा सीमित भयो ।
यही पृष्ठभूमिमा पछिल्ला केही वर्षयता राजनीतिक सम्पर्क र यात्रा बढेका छन् । सन् २०२४ मा पूर्वप्रधानमन्त्री माधव नेपाल रुस गए । त्यो पनि बहुधु्रवीय विश्व व्यवस्थासम्बन्धी एउटा सम्मेलन नै थियो । सन् २०२५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भेटेको सन्दर्भ चर्चाको विषय बनेको थियो । २०२६ मेमा फेरि माधव नेपाल रुसी कम्युनिस्ट पार्टीको कार्यक्रममा सहभागी हुन मस्को पुगे । अहिले प्रचण्ड मस्को पुगेर आए ।
यी शृङ्खलाबद्ध भ्रमणहरूका आ–आफ्नै विशेषता र चरित्र छन् । ओली र पुटिनबीचको भेट दुई सरकार प्रमुखबीचको भेट थियो । माधव नेपाल रुसी कम्युनिस्ट पार्टीको कार्यक्रममा गएका थिए । अहिले प्रचण्ड पनि सत्तारुढ दलकै कार्यक्रममा गएका हुन् । भेट र कार्यक्रमको चरित्र फरक भए पनि सारमा राजनीतिक सम्बन्ध र सम्पर्क विस्तार यसको अन्तर्य हो ।
नेपाल र सोभियत संघबीच १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । विगतमा सोभियत संघले नेपालमा जलविद्युत्, स्वास्थ्य, सडक आदि विकासमा सहयोग गरेको थियो । एउटा समय रुस छात्रवृत्तिमा जानेहरूको ताँती नै लाग्थ्यो । संघ विघटनपछि सहयोग र छात्रवृत्तिका कार्यक्रम खुम्चिए । उच्चस्तरीय राजनीतिक भ्रमणहरू पातलियो । अहिले भइरहेको अभ्यासलाई त्यही पुरानो सम्बन्ध नवीकरणका रूपमा पनि हेर्न सकिन्छ ।
रुसका लागि पूर्व नेपाली राजदूत मिलनराज तुलाधरको बुझाइ पनि यस्तै नै रहेको छ । उनी नेपाल र रुसबीचको सम्बन्धलाई बलियो बनाउन यस्ता उच्चस्तरीय राजनीतिक भ्रमणहरूको बढ्नुपर्ने आवश्यकता देख्छन् । उनी भन्छन्, ‘नेपालमा रुसले विगतमा विकास र आर्थिक सहयोग गर्दै आएको थियो । थुप्रै नेपाली विद्यार्थीहरू छात्रवृत्तिमा रुसबाट पढेर फर्केका छन् । रुसी पर्यटकहरूको घुम्ने रोजाइमा नेपाल पर्छ । अहिले पछिल्लो समय नेपाली राजनीतिक नेतृत्वको उच्चस्तरीय भ्रमणहरू गराएर रुसले नेपालमा आफ्नो प्राथामिकता भएको देखाउन खोजेको छ । महाशक्ति राष्ट्रसँग बलियो सम्बन्ध भए नेपाललाई फाइदा नै पुग्छ । प्रचण्डको यो भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बनाउन सहयोग पु¥याउँछ ।’
रुससँग नेपालको ऐतिहासिक सम्बन्ध बलियो भए पनि अहिलको आर्थिक सहकार्य त्यति व्यापक छैन । नेपालमा रुसी लगानी र द्धिपक्षीय व्यापार सीमित छ । रुस–युक्रेन युद्धमा नेपाली नागरिक रुसी सेनामा अवैध हिसाबले भर्ति भएका र कयौँका ज्यान गएको विषयले दुई देशबीचको कूटनीतिक सम्बन्धमा प्रश्न खडा गरेको छ । सारमा, बदलिँदो विश्व राजनीतिमा रुसले आफ्नो प्रभाव र इन्गेजमेन्ट विस्तार गर्न खोजेको हुनसक्छ भने कम्युनिस्ट नेताहरूले पनि अन्तर्राष्ट्रिय सम्पर्क बढाउन भ्रमणलाई प्राथमिकतामा राखेका हुनसक्छन् ।



















