
काठमाडौँ । नेपाल प्रहरीले विपद् तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा भएको अवरोधसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मिति ११ गते बिहान ७ बजेसम्म बागमती र गण्डकी प्रदेशका दुई मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल प्रहरीको सूचनाअनुसार बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाको पृथ्वी राजमार्गस्थित नागढुंगा–मुग्लिन सडक खण्डको घोप्टेभिरमा सडक मर्मत कार्य भइरहेका कारण सवारी आवागमन आंशिक रूपमा बन्द गरिएको छ । मंसिर ५ गतेदेखि सुरु भएको मर्मत कार्यका कारण उक्त स्थानमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ५ घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको गोरखा जिल्लामा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आरुघाट गाउँपालिका वडा नं. ०२ र ०३ स्थित सोतिदेखि मान्बु जाने पुलमा असोज २५ गते बिहान ५ बजेदेखि बाढीले क्षति पुर्याएपछि उक्त सडकखण्ड हालसम्म पनि पूर्ण रूपमा अवरोध रहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई अवरुद्ध सडकको समय तालिका र अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।


















