Logo
Logo

रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन


0
Shares

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

परियोजनाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले पर्यापर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिएको आयोजनाको काम निर्धारित समयमै सक्न निर्देशन दिएका हुन् । उनले परियोजना सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै कर्मचारी तथा निर्माण व्यवसायीलाई कामको गति बढाउन आग्रह गरे ।

परियोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले जानकारी दिएको छ । आयोजनाका अनुसार कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । यो अनुमानित लागतको ६५.४८ प्रतिशत हो ।

मन्त्री श्रेष्ठले रुपाताल संरक्षणको मोडल सफल भए अन्य तालहरूमा पनि यस्तै प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने बताए ।

आर्थिक वर्ष २०७३/७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो । पोखरा महानगरपालिकाका वडा नम्बर ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर अघि बढाइएको परियोजनाको मुख्य उद्देश्य ताल संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धन गर्नु हो ।

परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध, स्पिलवे तथा पुल, तालको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्यापर्यटन बगैँचा तथा तालको बीचमा कृत्रिम टापु र मन्दिर निर्माण गर्ने योजना छ ।

बाँध र स्पिलवेको काम अन्तिम चरणमा

आयोजनाका अनुसार अहिले बाँध तथा स्पिलवेको निर्माण अघि बढिरहेको छ । २८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त काममा हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । स्पिलवे कम ब्रिजको निर्माण अन्तिम चरणमा पुगेको छ भने मुख्य बाँध र कार्यालय भवन निर्माणको काम पनि भइरहेको छ ।

त्यस्तै, तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको काम पनि जारी छ । ३९ करोड ६७ लाख रुपैयाँ लागतको उक्त कामको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएका तीनवटै सिल्ट ट्र्याप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा बेड बार तथा चेक ड्याम निर्माण सम्पन्न भएका छन् । दुईवटा पक्की पुलमध्ये एउटा निर्माण सकिएको छ । त्यस्तै, आठ किलोमिटर नदी नियन्त्रण गर्ने लक्ष्यअनुसार ६ किलोमिटर तटबन्ध निर्माण भएको छ ।

१ हजार १८ रोपनी जग्गा अधिग्रहण

परियोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अघि बढाइएको छ । स्वीकृत डीपीआरअनुसार कुल १ हजार ४७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि आयोजनाको तत्कालीन आवश्यकता १ हजार २०० रोपनी रहेको छ ।

हालसम्म १ हजार ३४ कित्ताको १ हजार १८ रोपनी जग्गा अधिग्रहण गरिएको छ । यस क्रममा २३ वटा घरटहरा व्यवस्थापन गरिएको छ भने मुआब्जा तथा जग्गा अधिग्रहणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ ।

परियोजनाका लागि कुल ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान गरिएको छ । यसका लागि करिब १ अर्ब २९ करोड रुपैयाँ खर्च भएको विवरण आयोजनाले सार्वजनिक गरेको छ ।

यद्यपि, इको फुटट्रेल निर्माणमा वनसम्बन्धी प्रक्रिया र रुख कटानको विषय चुनौतीका रूपमा देखिएको छ ।

छ जिल्लामा आयोजनाका कार्यक्रम

यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ मा विभिन्न कार्यक्रमका लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको जनाएको छ ।

आयोजना प्रमुख कृष्णप्रसाद डुम्राकोटीका अनुसार जलस्रोत संरक्षण, टारबजार संरक्षण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन र सिँचाइ संस्थागत विकास यस वर्षका प्रमुख कार्यक्रम हुन् ।

आयोजनाको कार्यक्षेत्र कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ गरी छ जिल्लामा फैलिएको छ । आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण तथा मनाङका तालबजार र चामे बजार संरक्षणका आयोजना अघि बढाउने तयारीसमेत गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000