Logo
Logo

आजको मुख्य खबरः अध्यादेशमा बालेनको चासोदेखि कांग्रेसमा गगन र देउवा पक्ष टकरावसम्म (भिडियो)


0
Shares

काठमाडौं । आजको राष्ट्रिय राजनीतिमा राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटदेखि संसद् अधिवेशनको बहससम्मका विषय चर्चामा छन् । एकातिर सरकारले रोकिएका अध्यादेश अघि बढाउन राष्ट्रपतिसँग चासो राखिरहेको छ भने अर्कोतिर आफ्नै दलभित्रबाट संसद् अधिवेशन बोलाउन दबाब बढिरहेको छ । कांग्रेसभित्र महाधिवेशनको विवाद चर्किएको छ । देउवा समूहले महाधिवेशनको तयारी अघि बढाउँदा संस्थापन पक्ष निर्वाचन आयोग गुहार्ने तयारीमा छ ।

१. होल्ड गरिएका अध्यादेशबारे चासो राख्दै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशमा आपत्तिजनक विषय नरहेको र छिटो जारी गर्नुपर्ने धारणा ।

२. संसद् अधिवेशन छिटो बोलाउन सरकारलाई रास्वपाकै दबाब, अधिवेशन नबोलाइँदा संसद्मा कतिपय छलफल र जनसरोकारको विषयमा समेत बहस हुन नसकेको तर्क ।

३. वर्षौंदेखि थन्किएको ईपीजी प्रतिवेदन बुझाउने प्रक्रिया अघि बढ्ने नेपालको विश्वास, भारत र नेपालका प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गर्न समय प्राप्त हुने परराष्ट्रको अपेक्षा ।

४. सरकारी र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउदै मन्त्री सिता वादी, अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत समेट्ने नीतिगत व्यवस्था तयार ।

५. सामाजिक सुरक्षा कार्यक्रम विस्तारका लागि पाँच वर्षसम्म बजेट छुट्याउँने अर्थमन्त्रीको भनाइ, आगामी बजेटमा पर्याप्त रकम छुट्याउने अर्थमन्त्रीको प्रतिबद्धता ।

६. एमालेलाई पुन जनताको भरोसायोग्य पार्टी बनाउने महासचिव शङ्कर पोखरेलको भनाइ,
पार्टीप्रति असन्तुष्ट जनता र कार्यकर्ताको मन जित्दै सङ्गठन सुदृढ बनाउने प्रतिबद्धता ।

७. देउवा समूहद्वारा १५औँ महाधिवेशन तयारीका लागि पाँच समिति गठन, प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेतसहित पाँच नेतालाई विभिन्न समितिको संयोजकको जिम्मेवारी ।

८. एउटै पार्टीका दुई महाधिवेशन हुन नसक्ने भन्दै देउवा समूहविरुद्ध कांग्रेस, आधिकारिक नेतृत्व अद्यावधिक भइसकेको दाबी गर्दै रुख र झण्डाको प्रयोग रोक्न निर्वाचन आयोग जाने तयारी ।

९. विज्ञानमन्त्री महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारीको आन्दोलन, खारेजी, खुला प्रतिस्पर्धा, कर्मचारीको सेवा सुरक्षा र विज्ञानमैत्री कानुन निर्माणको १२ बुँदे माग ।

१०. सुकुमवासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न कुलमानको आग्रह, जाडोको मौसममा सुरक्षित आवासको सुनिश्चितताबिना पुनः विस्थापित गर्नु उचित नहुने धारणा ।

११. पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याद थप, मलेसिया गैरकानुनी रूपमा एक अर्ब ६९ करोड पठाउने निर्णयमा संलग्न रहेको आरोप ।

१२. बजार अनुगमनमा तोकिएको जरिबाना एक महिनाभित्र तिर्न सम्बन्धित व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई सरकारको निर्देशन, नतिरे सम्पत्ति रोक्कासम्मको कारबाही गर्ने ।

१३. रासायनिक हतियारको विकासदेखि प्रयोगसम्मकै विपक्षमा नेपाल, हेगमा ओपिसिडब्ल्युको सम्मेलनलाई सम्बोधन गर्दै राजदूत सेवा लम्सालद्वारा विश्व शान्ति र निरस्त्रीकरणप्रति प्रतिबद्धता व्यक्त ।

१४. भोटेकोशी बाढीमा क्षतिग्रस्त सवारी फेला नपर्दा बीमा भुक्तानी प्रक्रिया जटिल, १ अर्ब ४० करोड ७३ लाख बराबर क्षति मूल्यांकन भएकोमा २५ सवारीसाधनको क्षति मूल्यांकन हुन नसकेको तथ्यांक ।

१५. जुनसुकै ठाउँमा रहेका योग्य नागरिकले भोट हाल्न पाउनुपर्ने आयुक्त डा. राजिब सुब्बाको भनाइ, मतदान सहज बनाउन अन्तरजिल्ला र विदेशबाटै मतदान गर्न अनलाइन भोटिङ लागू गर्नुपर्ने धारणा ।

१६. साउदी अरबमा हवाई हमलामा नेपालीको मृत्यु, जिजानस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा नेपाली श्रमिकको ज्यान गएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि ।

१७. जनकपुर–अयोध्या रेल भोलि शनिबारदेखि नियमित सञ्चालन हुने, टिकट बुकिङ खुला, यात्रुले नागरिकता वा मान्य परिचयपत्र साथमा राख्नुपर्ने ।

१८. सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतको प्रस्ताव, अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग भारतको पहल ।

१९. ओलम्पिक टर्च बालेर सुरु भयो १०औं राष्ट्रिय खेलकुदको ट्रफी टुर, ट्रफी टुरले कर्णालीका ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचान प्रवद्र्धन गर्दै राष्ट्रिय खेलकुदको माहोल सिर्जना गर्ने अपेक्षा ।

२०. र, तिरुपति मन्दिरमा अहिलेसम्मकै ठूलो दान, चेन्नईका वर्धमान जैन र पत्नी राधिकाद्वारा भगवान् वेंकटेश्वरलाई मुकुट, हीरासहितका २०८ करोड भारतीय रुपैयाँका गरगहना अर्पण ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000