Logo
Logo

बाजुरामा ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो


0
Shares

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक जनाको मृत्यु भएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका थिए । घाइते हुनेमा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाकी ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका थिए ।

घाइतेमध्ये गम्भीर अवस्थाकी रामशरा देवी सिंहको राति कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य चार जनाको उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जुड्डी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते तथा मृतकलाई उपचारका लागि कोल्टीस्थित आधारभूत अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार राति दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको थियो ।

शुक्रबार साँझ साढे ६ बजे जगन्नाथ गाउँपालिका–३ को दाउणा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको थियो । पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000