
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनलाई लक्षित गर्दै देशभरका करिब १ लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक गरेको छ ।
पार्टी नेता राजाराम श्रेष्ठका अनुसार पार्टी संगठनमा आबद्ध भई वडा, नगर, क्षेत्र तथा केन्द्रीय तहमा सक्रिय रहेका सदस्यहरूको सदस्यता अद्यावधिक गरिएको हो । राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।
विगतमा राप्रपामा करिब डेढ लाख क्रियाशील सदस्य रहेकोमा यसपटक सदस्यता अद्यावधिक गर्दा उक्त संख्या घटेर १ लाख १० हजारको हाराहारीमा पुगेको छ ।
श्रेष्ठका अनुसार महाधिवेशनका लागि क्रियाशील सदस्यबाट प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।
महाधिवेशनको तयारीस्वरूप पार्टीले ७६ जिल्ला र पाँच प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ । पालिका, प्रदेशसभा, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, महाधिवेशन प्रतिनिधिमा युवाको सहभागिता सुनिश्चित गर्न प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमध्ये कम्तीमा एक जना ४० वर्षमुनिको हुनुपर्ने व्यवस्था गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए ।


















