
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय समिति गठन गर्न माग गरेका छन् ।
हिरासतमा रहेका व्यक्तिलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोजिएको र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग भइरहेको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले कांग्रेस सभापति गगन थापालगायत अन्य व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाट बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका इनम सापकोटाको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने काम भइरहेको भन्ने आरोप गम्भीर रहेको बताएका छन्। उनका अनुसार, यस्तो गतिविधि भइरहेको हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हो ।
आङ्देम्बेले सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा सार्वजनिक भएका तथ्यले अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन् । अनुसन्धानका नाममा कसैलाई दबाब दिएर आफूअनुकूल बयान गराउने र राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको प्रयोग गर्ने कार्य लोकतान्त्रिक मूल्य तथा कानुनी शासनको मर्मविपरीत हुने उनको भनाइ छ ।
उनले सरकारमाथि प्रश्न गर्दै इनम सापकोटा प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ वा नियोजित रूपमा कसैलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने स्पष्ट पार्नुपर्ने बताएका छन्। प्रधानमन्त्रीबाट यस विषयमा स्पष्ट जवाफ आउने अपेक्षा कम रहेको टिप्पणी गर्दै उनले राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।
आङ्देम्बेले सत्ता स्थायी नहुने तर राज्यका संस्थाहरूको विश्वसनीयता र विधिको शासन स्थायी हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र कानुनी शासनका पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको भन्दै उनले पार्टीको अडान कायम रहेको उल्लेख गरेका छन्।
उनले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने, दोषी देखिने जोसुकैलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र राजनीतिक विचारका आधारमा कसैलाई फसाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गरेका छन्।
आङ्देम्बेले राज्यसत्ता कुनै व्यक्तिको निजी प्रतिशोध साँध्ने औजार बन्न नहुने भन्दै सरकार संविधान र विधिको शासनअनुसार सञ्चालन हुनुपर्नेमा ध्यानाकर्षण गराएका छन्।


















