Logo
Logo

चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात

कात्तिकमा मात्रै ४ अर्बभन्दा बढीको कारोबार


0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।

साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा बिक्री गरेर प्राधिकरणले उक्त आम्दानी गरेको हो ।

प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार, चार महिनामा विद्युत् निर्यातबाट कुल २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । यस अवधिमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।

कात्तिक महिनामा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ । उक्त महिनामा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

चार महिनामध्ये सबैभन्दा बढी विद्युत् निर्यात असोजमा भएको छ । असोजमा ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको थियो । उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको थियो ।

त्यस्तै, साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यात गरी ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ र भदौमा ५७ करोड ८७ लाख युनिट निर्यात गरी ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको थियो । साउनको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ १५ पैसा र भदौको ९ रुपैयाँ ४ पैसा रहेको थियो ।

प्राधिकरणले देशभित्र खपत गरेर अतिरिक्त भएको वर्षायामको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । त्यस्तै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा पनि हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ ।

नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् बिक्री भइरहेको छ । वर्षायामका छ महिना अर्थात् प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशतर्फ विद्युत् निर्यात गर्ने व्यवस्था छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन र प्रसारणतर्फका संरचनामा क्षति पुगेकाले यस वर्ष निर्यात प्रभावित भएको बताउनुभयो ।

निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा समेत क्षति पुगेर उत्पादन बन्द भए पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको उहाँको भनाइ छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

गत आवमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल लगातार दुई वर्षदेखि विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000