Logo
Logo

आगलागीबाट १० लाख बराबर क्षति, दुई घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । चट्याङ परेर आगलागी हँुदा दाङमा पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट घरमा रहेको महत्वपूर्ण कागजात, घर, घरमा रहेका काठ दाउरा नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएकोछ । विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । हिजो भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो । घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट पाँच लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट जनाएको छ ।
गाउँपालिका–१० धाप्रेमा आगोले जल्दा एक वृद्धा घाइते हुनुभएको छ । खरबारीमा लागेको आगो निभाउन जाने क्रममा शरीरको बाहिरी भाग जलेर ६० वर्षीया अमृता दर्जी गम्भीर घाइते भएकी हुन् । उनको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्