Logo
Logo

प्रधानमन्त्रीद्वारा बोगटान कालोपत्र सडक शिलान्यास


- दृष्टि न्युज/संवाददाता


डोटी (रासस) । प्रधानमन्त्री एव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आज सहजपुर–बोगटान सडक कालोपत्रको शिलान्यास गर्नुभएको छ । डोटीको बिपिनगरमा हिजो आयोजना गरिएको सो सडक शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले बोगटानलगायत समग्र डोटेली जनताका सुखका दिन आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब तपाईंहरूको घरछेउमै पिच सडक हुनेछ, आफूले सक्ने खालको व्यवसाय गर्नुहोस्, व्यापारी तपार्इंकै घरमा पुग्नेछन् ।” प्रधानमन्त्री ओलीले अहिलेको सरकार ५ वर्षसम्मका लागि भएकाले विकासका काम गर्नमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले थप भन्नुभयो, “पाँच वर्षभित्रमा हामी देशको विकास गरेर मुहार नै फेर्ने योजनामा छौँ, जनतालाई सहज र सुविधा हुने विकास यो सरकारले गर्छ ।
कच्ची सडक शिलान्यास भएको ३३ वर्षपछि यस सडक कालोपत्र गर्ने कार्यको शुरुआत भएको हो । पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट र डोटीबाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रेमबहादुर आलेमगरले लामो समयदेखि बोगटान सडक कालोपत्रका लागि पहल गर्दै आउनुभएको थियो ।

उक्त आयोजनालाई सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा छनोट गरेको छ । उक्त सडक कैलालीको सहजपुरदेखि डोटीको बडिकेदारसम्म ५० किलोमिटर रहेको छ । यस सडक कालोपत्रका लागि रु दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ । कालोपत्र गर्ने कार्य ३० महीनाभित्र सम्पन्न गरिने कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले जानकारी दिनुभयो ।
आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाविसका बासिन्दालाई प्रत्यक्ष लाभ मिल्नेछ । सहजपुरदेखि बडिकेदार गाउँपालिका हुँदै डोटीको बोगटानको सिमचौर भएर दीपायल जोड्ने उक्त सडक २०४२ सालमा कच्ची सडकका रूपमा शिलान्यास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्