काठमाडौं, १५ फागुन ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सुरक्षा भन्दा सेटिङमा केन्द्रीत छ । भारतबाट सामान तस्करीमा सेटिङले सशस्त्र प्रहरी समेत बदनाम हँुदै गएको छ । जसकारण पटक पटक सशस्त्र प्रहरी रंगेहात पक्राउ पर्दै आएका छन् ।

बिहीबार इन्सपेक्टर नै रंगेहात पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा–३ तोण्डिहवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी उनीहरुले ५० हजार रुपैयाँ लिएका थिए । रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ३ लोण्डिहवा स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि. अगाडीबाट उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।











