Logo
Logo

तेस्रो इतिहास


लक्ष्मी रुम्बा


लक्ष्मी रुम्बा

 

उर्दी जारी छ सदियौंदेखि

लेख्न बन्द गर
बोल्न बन्द गर
बाँच्नै बन्द गर
लिगबेगर कुदिरहेको रेलजस्तो
छायाँबिना दौडिरहेको मान्छेजस्तो
गुलामी हातहरुले
कोरिरहेको बर्बर दस्ताबेजजस्तो,
यो वर्तमानको एक एक पन्नाहरु
काफी छन् जन्माउन
आन्दोलनको नयाँ अध्याय ।

ए देशकै सवैभन्दा काँतर मान्छे
बर्षौदेखि तिमी
एक सत्ता
एक अधिनायक
एक तानाशाह

म बर्षौदेखिको
एक बिद्रोह
एक आन्दोलन
एक युद्ध
जुगौदेखिको नीलडाम
तिम्रो सत्ताको कुइनेटामा फालिएको एक सिंगो देश ।

जति बर्साउ दमनका फोहोराहरु
जति चलाउ सत्ताका कोर्राहरु
लगाउ कुना कुना निषेधका मौसमी आदेशहरु
सयौ छालहरुले हिर्काएर ज्यूँदो चट्टानजस्तै
मार्न खोज्दाखोज्दै
इतिहासको गर्तमा बाँचिरहेको
मेरो त्रासद इतिहासजस्तै,
छ म भित्र दन्किरहेको घाउको भर्भराउँदो लप्का ।

डुबेर रातको दहबाट कहिले नउदाएको छ घाम
चलेर कहिले थाकेको छ बतास
बगेर कहिले सकिएको छ नदीको धारिलो बेग ?
देश तिम्रो संसद होइन
लोकतन्त्र तिम्रो खेलौना होइन
एउटा अन्त्य तिम्रो
एउटा आरम्भ मेरो
भएजति बल लगाएर उठाउ अब अन्तिम अस्त्र
तिम्रो अधिनायकत्वको धुरी भाँचिनेगरी
लेखिनेछ अब तेस्रो इतिहास
खातका खात सत्ता चुुसाइबिरुद्ध
पृथ्वी जत्रो आक्रोशले
ध्वस्त हुनेछ तिम्रो तानाशाही एक्सप्रेस ।

प्रतिक्रिया दिनुहोस्