काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गर्न सर्वोच्च अदालतले आदेश दिएपछि सरकारले संसद अधिवेशन सिफारिस गरेको केहीदिनदेखि हल्ला चलेको छ । तर, सरकारका मन्त्री मात्र होइन राष्ट्रपति कार्यालयसम्म बेखबर छ ।

अहिले जारी मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको छ । कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले आज बोलाइएको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आह्वानका लागि सिफारिस गर्न सक्ने जानकारी दिएकी छन् ।
प्रधानमन्त्रीले आजकै बैठकबाट अधिवेशन आह्वानको सिफारिस गरे बल्ल राष्ट्रपति कार्यालयमा पत्र पठाइन्छ र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नेछिन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा अधिवेशन आह्वानको सिफारिस गरेको हल्ला चल्यो । मन्त्रीहरुलाई हवाला दिंदै विभिन्न सञ्चारमाध्यामहरुले संसद बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको समाचार सम्प्रेषण गरे ।
तर, यो विषयमा राष्ट्रपति कार्यालय नै बेखवर छ । राष्ट्रपति कार्यालयले दृष्टि न्यूजलाई भन्यो, ‘संसद बोलाइएको बारे राष्ट्रपति कार्यालयलाई कुनै पत्र आएको छैन । त्यसो हुँदा कसरी अधिवेशन आह्वान हुन्छ ? पहिले सरकारले सिफारिस गर्नुपर्यो अनि मात्र अधिवेशन आह्वान हुनेछ ।’
अहिले केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको सिफारिस गर्ने र राष्ट्रपति कार्यालयलाई पत्र पठाइने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । सरकारको पत्र जाने वित्तिकै राष्ट्रपति कार्यालयले आजै अधिवेशन आह्वान गर्न सक्ने बताइएको छ ।











