मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिुनपर्ने बतएका छन् ।
प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

उनले आफूहरुलाई प्रधानमन्त्री नभई प्रतिगमनबाट मुक्ति मात्र चाहिएको बताए । उनले कांग्रेस र जसपाबाट प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको पनि बताए ।
‘कांग्रेससँग छलफल चलिरहेको छ । जसपाले के निर्णय गर्छ भन्ने हेर्न बाँकी छ,’ अध्यक्ष नेपालले भने, ‘प्रतिगमनविरुद्ध लडेका दलहरुबीचको सहमतिमै नयाँ सरकार गठन हुन्छ । हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौं ।’
अध्यक्ष नेपालले कांग्रेस र जसपालाई प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र आग्रह गरेको र कांग्रेस र जसपाले नल्याए आफूहरुले ल्याउने प्रस्तावमा समर्थन गर्न आग्रह गरेको बताए । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताए ।
‘कांग्रेस र जसपालाई प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुस् हामी साथ दिन्छौँ भनेका छौँ, नभए हामीले ल्याउँदा साथ दिनुस् भनेका छौं’, अध्यक्ष नेपालले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने दाबी गरे ।












