Logo
Logo

सुरक्षा कारबाहीमा ५९ जना लुटेरा मारिए


- दृष्टि न्युज/संवाददाता


नाइजेरिया, १० फागुन (एएफपी) । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । डानमार्क भन्ने अर्को गाउँमा पनि १५ जना लुटेरा मारिएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।
उत्तर पश्चिम नाइजेरियाको बिग्रदो शान्ति सुरक्षाको अवस्थाले राष्ट्रपति मोहम्मदु बुहारीमाथि चुनौती बढेको छ । आगामी शनिबार नाइजेरियामा राष्ट्रपतिको चुनाव हुँदैछ । चुनाव अघि भएका यी घटनाले राष्ट्रपति बुहारीको पुनः निर्वाचनलाई कठिन बनाएको छ ।

राष्ट्रपति बुहारीको राम्रो पकड रहेको तथा खेतीपाती र पशुपालन मुख्य पेशा व्यवसाय भएका यस क्षेत्रका जनताले सुरक्षा फौजले आफ्नो सुरक्षामा पर्याप्त ध्यान नदिएको गुनासो गरिरहेका छन् ।
‘सुरक्षा फौजले ध्यान नदिएका कारण लुटेराको हातबाट मर्नुभन्दा लड्नु नै उचित ठान्न थालेका छौँ’ नाम नबताउने एक स्थानीयबासीले बताए । डानीजिग्बा प्रदेश राजधानी गुसाउबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको छ । व्यापारिक केन्द्रका रुपमा रहेको डानिजिग्बामा पटकपटक आक्रमण हुने गरेको छ ।
आक्रमणका कारण धेरै मानिस अन्यत्र पलायन हुन बाध्य छन् । उनीहरु चाफे र काटसिना सहरतर्फ भाग्न विवश भएका छन् । यसै महिनाको शुरुमा पनि माडा जिल्लामा लुटेराहरुले २६ जना गाउँलेको हत्या गरेका थिए ।
गत जुलाईमा जामफारा राज्यमा पनि लुटेराहरुको आक्रमणबाट सन् २०१८ को छ महिनाको अवधिमा कम्तीमा तीनसय ७१ जनाको हत्या भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत डिसेम्बरमा एकजना स्थानीय नेताले आत्मरक्षाका लागि स्थानीयबासीलाई सरकारले नै बन्दुक राख्न अनुमतिका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्