काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
आज (शुक्रबार) को बसेको प्रचण्ड–नेपाल लक्षको संसदीय दलको बैठकपछि प्रधानमन्त्रीले त्यो भन्दा अगाडि नै राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता हुने एक नेताले बताए ।
आजको वैठकमा आफ्नो पक्षका १११ जना सांसदले स–शरीर उपस्थित भएर हस्ताक्षर गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । आफ्नो पक्षमा ११५ सांसद रहेको र विभिन्न कारणबस् योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको उनले जानकारी दिए ।
बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ । सिंहदरबारमा ज्येष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा केपी शर्मा ओलीलाई हटाउँदै संसदीय दलको नेता परिर्वतन गरेको हो ।












