काठमाडाैं । नेकपाको संसदीय दलको नेता चयन भएका पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।
नेकपा संसदीय दलको नेतामा चयन भए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै दाहालले ओलीले राजीनामा नदिए आउने दिन झनै असहज हुने उनले बताए ।
‘आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनः स्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो त्यति मात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ नभए प्रक्रियामार्फत अघि बढ्छौं’, उनले भने ।
उनले अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेको पनि बताएका छन् । उनले भने, ‘अविश्वासको प्रस्ताव ल्याउन ओलीले नै बाध्य पार्नुभयो । संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नु पर्ने हुन्छ ।’












