काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो । सर्वोच्चले एकीकरण गर्ने भएमा आयोगले निश्चित समय तोकेर बोलाउन परमादेशको आदेश जारी गरेको थियो।
‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएको छ,’ आयोगको निर्णयमा भनिएको छ, ‘अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित जानकारी गराउने।’












