Logo
Logo

राजपाले मन्त्रीहरु हेरफेर गर्ने


- दृष्टि न्युज/संवाददाता



जनकपुर, १२ फागुन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जनकपुरमा जारी बैठकमा प्रदेश २ सरकारको मन्त्रीमण्डल पुनर्गठनको विषयमा छलफल अघि बढेको छ । जनकपुरमा जारी बैठकमा हाल बहाल रहेका मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई मौका दिनुपर्ने भन्ने धारणा आएको हो।

शुक्रबारदेखि सुरु बैठकको पहिलो सत्रमा राजपाका केन्द्रीय अध्यक्ष मण्डल, प्रदेश २ का तीन मन्त्री र तीन राज्यमन्त्री बीच प्रदेश सरकारको समीक्षा गरिएको थियो।

दोस्रो सत्रको बैठकमा अध्यक्ष मण्डल, प्रदेशका मन्त्री तथा राजपाका प्रदेशसभा सांसदहरुबीच सरकारले गरेका कामको समीक्षा भएको थियो। प्रदेशसभा सदस्यहरु सम्मिलित छलफलमा मन्त्रीहरुको निकै विरोध भएको थियो।
मन्त्रीहरुको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदेशसभा सदस्य तथा महासचिव मनिष सुमनले भने, ’मन्त्रीज्यूहरुले पासमार्क पाउने काम पनि गर्नुभएको छैन, उहाँहरुलाई फिर्ता बोलाउनुपर्छ।’

हाल भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर २५ वटा सांसदमध्येबाट मन्त्रीको जिम्मेवारी दिनुपर्ने वा राज्यमन्त्रीलाई कार्य्विभाजन गरी अधिकार दिनुपर्ने माग अधिकांश सांसदहरुको थियो।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबधन सरकार छ। राजपाले ३ मन्त्रालय पाएको छ। प्रदेश २ मा राजपाका २५ सांसद छन्।

पार्टीको समग्र कार्यसमीक्षा, प्रदेश सरकारको काम, प्रगति र विकासका एजेन्डाहरुको विषयमा पहिलो दिनको बैठकमा छलफल भएको राजपा संयोजक महेन्द्र राय यादवले बताए। बैठक आइतबार सकिनेछ।

प्रतिक्रिया दिनुहोस्