Logo
Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजारबाट घटेर २ सयमा झर्‍यो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको संख्या ४ हजारबाट २ सयमा झरेको छ । नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटीको संख्या ४ हजार थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति थियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ मा पार्टी एकीकरण भएको थियो । तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै रुपमा फर्काइदिएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको बैठकले २ सय केन्द्रीय सदस्यहरु उपस्थित भएको नेता नारायणकाजी श्रेष्ठले बताए । उनले अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुने जानकारी दिएका हुन् ।

निर्वाचन आयोगमा माओवादी केन्द्रको ८७ सदस्यीय केन्द्रीय सचिवालयमात्रै गएको छ । माओवादी केन्द्र दर्ता हुँदा केन्द्रीय समिति पछि बुझाउने गरी केन्द्रीय सचिवालयमात्रै रहेको जानकारी आयोगमा गराइएको माओवादी केन्द्रका एक नेताले बताए ।

अब त्यही ८७ सदस्यीय केन्द्रीय सचिवालयले केन्द्रीय समितिलाई अनुमोदन गरेर निर्वाचन आयोगमा पठाउनेछ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्