Logo
Logo

मेलम्चीको पानी आजबाट काठमाडौंका घर-घरमा


दृष्टि संवाददाता


काठमाडौं । मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्ने भएको छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो ।

तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइदैछ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौं पठाइन्छ, त्यसमध्ये काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ हुनेछ ।”

उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भने, “यो पाइपको परीक्षण मात्र हो, पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पिउन मिल्छ ।” गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते आयोजनाको फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए । शुक्रबार वितरण केन्द्रमा पठाइएको पानी थोक वितरण प्रणाली पाइपलाइन ‘फ्लस’ गर्दै चाबहिलनजिक धोबीखोलामा खसालिएको थियो ।

संरचना परीक्षणमा

यो आयोजनाको काम सम्पन्न भइसकेको छैन । पानीको मुहान मेलम्ची खोलामा ‘हेडवक्र्स’ निर्माण भइरहेको छ । अस्थायी विकल्प प्रयोग गरी पानी पथान्तरण गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, “अहिले सबैतिर परीक्षण हुन्छ, पानी पठाउँछौँ, वर्षात्मा हामी सुरुङको परीक्षण गर्छौं, प्राविधिकको सल्लाहले नै अहिले पानी वितरण गर्न लागिएको हो ।” हाल पानी प्रशोधन केन्द्र, पाइपलाइन, वितरण केन्द्र (ट्याङ्की) परीक्षणका लागि पानी वितरण गरिएको समितिले जनाएको छ ।

अधिकांश निर्माण पूरा

मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले उपत्यकामा एक हजार १० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किलोमिटर सम्पन्न भइसकेको छ ।

पानी वितरणका लागि उपत्यकामा १० वटा वितरण केन्द्र (ट्याङ्की) मध्ये एउटा भक्तपुर कटुञ्जेको ट्याङ्कीबाहेक नौवटा सम्पन्न भइसकेका छन् । यी १० वटै केन्द्र (पोखरी)मा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुन्छ । भल्ब च्याम्बर एकदेखि चारसम्मका प्याकेजमा २२२ मध्ये २१० वटा निर्माण भइसकेका छन् ।

निर्देशनालयले एक लाख दुई हजार ५७४ धारा जडान गर्नुपर्नेमा हालसम्म ७५ हजार धारा जडान गरिसकेको छ । पानी प्रशोधन गर्न करिब छ अर्ब २९ करोड रुपियाँको लगानीमा प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । आयोजना निर्देशनालयले पाँचवटा प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न गरेको छ । बाँकी चारवटाको काम आधा भएको छ ।

खानेपानी अझै अपुुग

काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानी माग रहेकोमा ३१ करोड लिटर अपुुग छ । केयूूकेएलले दैनिक आठ करोड लिटर मात्रै वितरण गर्न सकेको छ भने निजी क्षेत्रले दैनिक करिब चार करोड लिटर वितरण गर्दै आएको छ ।

मेलम्ची खोलाको पानी पहिलो चरणमा दैनिक १७ करोड लिटर आएपछि केयूकेएलको क्षमता दैनिक २९ करोड लिटर पुग्ने छ । मेलम्चीको दोस्रो चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंँ उपत्यकामा पर्याप्त खानेपानी हुने छ ।

थप ३४ करोड लिटर आउने

मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्र्याउने लक्ष्य छ । दोस्रो चरणमा लोर्के खोलाको १७ करोड लिटर र याङ्ग्री खोलाको १७ करोड लिटर पानी अहिले निर्माण भएका संरचनाबाटै उपत्यका भिœयाएपछि भने दैनिक आपूर्ति ५१ करोड लिटर पुग्ने छ । त्यसपछि उपत्यकामा खानेपानीको समस्या हल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्