Logo
Logo

सम्झनामा नवीन्द्रराज- अधुरो भेट


शम्भु श्रेष्ठ


नेपालको राजनीतिमा नैतिकवान, इमान्दार र स्वच्छ छविका नेताको खडेरी परिरहेकै बेला नवीन्द्रराज जोशी हामीबीच रहनु भएन । सादा जीवन, उच्च विचारका धनी जोशी नेपाली कांग्रेसको मात्र कार्यकर्ता थिएनन्, उनी देशकै निष्ठावान नेता थिए । लौहपुरुष गणेशमान सिंहको प्रेरणाबाट राजनीतिमा लागेका उनले आफ्नो जीवनमा सिंहकै बाटो पछ्याए । लोभ र लाभबाट उनी सधैँ टाढा रहे ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको खबरले उनी दुःखी थिए । के कारण ओलीले संसद् विघटन गरे, अब के हुन्छ भनेर मलाई फोन गरे । उनले भने, यत्रो दुईतिहाइको सरकार ढाल्नु गल्ती हो । पार्टीभित्र वादविवाद त भइरहन्छ । एमालेमा भन्दा ठूलो विवाद कांग्रेसमा पनि छ, तर कांग्रेस फुटेको छैन । एकपटक पार्टी फुटेको पीडा भोगेको एमालेले जनताको मतको सम्मान गर्न सकेन ।

त्यसपछि मैले भने, धेरै कुरा भेटेरै गरौंला, विशेष विमान चढेर एयरपोर्टबाट सोझै बालुवाटार जो गयो, त्यसैले यो सबै भताभुंग पार्ने काम गर्यो । तपाईंले भने जस्तै जनताले नै ओलीलाई दुईतिहाइ मत दिएर त्यहाँ पुर्याएको हो । तर, ‘मुर्ख’ भएपछि कसको के लाग्छ । जोशीसँग मेरो यो संवाद भएपछि एक दिन उहाँकै घरमा गएर कुरा गरौंला भन्ने सोचेको थिएँ । तर, उहाँ अचानक बिरामी भएर अस्पताल भर्ना भएको सुनेँ ।

जोशीसँग बेलाबखत मेरो कमलपोखरीस्थित पूर्वराजदूत यादवकान्त सिलवालको घरमा भेट हुन्थ्यो । जोशी र सिलवाल नाता पर्ने भएकोले सिलवालको जन्मदिनलगायत विभिन्न समय मलाई पनि बोलाउनु हुन्थ्यो ।

त्यही हामीबीच धेरै राजनीतिक गफ हुन्थ्यो । उहाँ देशमा बढ्दो भ्रष्टाचारप्रति चिन्तित हुनुहुन्थ्यो । जे सम्झेर जतिबेला उहाँ राजनीतिमा प्रवेश गर्नुभयो, त्यस्तो परिस्थिति अहिले नभएको, नेता कार्यकर्ता सबै पैसा कमाउन राजनीतिमा लागेको देखेर दिक्क मान्नु हुन्थ्यो ।

धेरै नबोल्ने, कम बोले पनि सत्य कुरा बोल्ने उहाँको बानी थियो । त्यस्तो इमान्दार नेता गुमाउनुपर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा उहाँको शवयात्रामा देखियो । सबैको आँखा रसाएका थिए, सिंगो आकाश पनि शोकमग्न थियो ।

त्यो दिन दिनभरि ‘फेसबुक’ उहाँकै श्रद्धाञ्जलीले भरियो । फेसबुक हेरेर मेरो मन पनि भारी भयो । उहाँको सम्झनामा दुई शब्द लेख्न बस्दा पनि कलम कापिरहेको छ ।

अन्त्यमा, नवीन्द्रराज जोशीप्रति हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया दिनुहोस्