काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कारबाही सिफारिस गरेको छ ।
भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले थापालाई एक वर्षका लागि साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो । उनलाई पार्टी कार्यालय तोडफोड र गुण्डागर्दी गरेको भन्दै कारबाही सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ ।

‘नेकपा (एमाले) को विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई विसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सहसंयोजक कर्णबहादुर थापालाई नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ को (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट एक वर्ष निलम्बनका लागि सिफारिस गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।











