
काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीले सफाई पाएका छन् । उच्च अदालत पाटन, हेटौंडाका न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हो।
२०६१ जेठ २४ मा चितवन रत्ननगरमा रहेका हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। तत्कालीन विद्रोही माओवादीले हत्याको जिम्मा लिएको थियो । तर, कृष्णका दाजु र बाबुले हत्याविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरीविरुद्ध कुनै कारबाही भएको थिएन ।
मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । तर, लामो समयसम्म कारवाही नभएपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए ।
यसरी अनशन बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजूरीबारे अनुसन्धान शुरु गरेको थियो । उजूरीमा किटिएकामध्ये केहीलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुनसकेको थिएन ।
नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ प्रतिवादी छन् । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नपुग्ने भन्दै अदालतले दुई जनालाई धरौटीमा छाडेको थियो ।












