Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कांग्रेससँग नयाँ सरकार नबनाउने जसपाको तयारीदेखि कोरोना भाइरसको संक्रमण फैलिएकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टीभित्र लामो समयको संवादहिनता तोड्दै आन्तरिक छलफल सुरु, कांग्रेसको नेतृत्वमा सरकार बनाउन तत्काल सम्भव नभएको निष्कर्ष, गठबन्धनबारे छलफल नै नभई कांग्रेसले सरकारको नेतृत्व दावी गर्नु गलत भएको जसपाको तर्क, पदाधिकारीको बैठक अझै जारी रहने ।

२. माओवादीले नयाँ सरकारको नेतृत्वका लागि दावी नगर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी, नयाँ सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने विषय आपसी सहमतिबाट टुंग्याइने, ओली नकचरो भएर कुर्सीमा बसिरहेको प्रचण्डको आरोप, तीनै दलबीच सहमति भएमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने प्रचण्डको दावी ।

३. नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहद्वारा प्रदेश दुईको संसदीयको नेता परिवर्तन, सत्यनाराण मण्डललाई हटाएर शत्रुघन महतो चयन, २३ र २४ चैतमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका सुदुरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावललाई कारवाही, वार्ता र संवादबाटै पार्टीभित्रको समस्या समाधान गर्न तयार रहेको निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालको दावी ।

४. सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको अभियोग लागेकाहरुले उच्च अदालत पाटनद्वारा सफाइ, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले अधिकारी हत्याको अभियोग लागेका १२ जनालाई सफाइ दिने चितवन जिल्ला अदालतकै फैसलालाई सदर, कृष्णप्रसादकी आमा गंगामाया छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै हाल अनशनरत ।

५. नेपालमा १८ वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिका कोरोना संक्रमित, संक्रमणको ग्राफ उकालो लाग्दा पनि सरकारको तयारी भने शुन्य, नयाँ वर्ष मनाउन सीमाबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्दै, परीक्षण नहुँदा संक्रमण फैलने खतरा, विद्यालय पुनः बन्द गराउन लागेको भन्दै प्याब्सनले जनायो विरोध, स्वास्थ्य मापदण्डको पालना कडाईका साथ लागु गराउन माग, शिक्षा मन्त्रालयले सोमबार बोलायो विज्ञसँगको छलफल, त्यसपछि मात्रै निर्णय गरिने दावी ।

६. भारतद्वारा पुनः एकपटक रेमडेसिभिरको औषधि निर्यातमा रोक, कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि घरेलु बजारमा अभाव नहोस् भनेर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको निर्यातमा रोक लगाउने निर्णय, बजारमा रेमडेसिभिरको आपूर्ति सहज बनाउन सबै कम्पनीलाई उक्त औषधि वितरकहरुको विवरण वेबसाइटमा राख्न पनि निर्देशन जारी ।

७. काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा,यारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकियो, कोरोनापछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीको भनाइ, किसान र उपभोक्ता मूल्यमा देखिएको अन्तर बिचौलियाको नाफा भएको भन्दै त्यसलाई घटाउन वाणिज्य विभागले भूमिका खेल्नुपर्ने माग ।

८. चालु आर्थिक वर्षमा साढे ६ अर्बले बढ्यो बैंकहरुको ’रियल स्टेट लोन’, प्रति मेगावाट लागत १३ करोड मात्रै रहेको सोलुखोला जलविद्युतको एक करोड कित्ता आइपीओ आउँदै, ८४ प्रतिशत जनसङ्ख्याको पहुँचमा ब्रोडव्यान्ड इन्टरनेट,मोबाइल डेटा प्रयोगको हिस्सा बढी ।

९. नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने, महिला क्रिकेट टोलीले भारतीय टोलीसँग सिरिज खेल्ने, क्रिकेटका मुख्य प्रशिक्षक ह्वाटमोरको श्रम स्विकृती हुन सकेन, तीन महिना देखि तलवविहिन, पाकिस्तान सुपर लिग जुन १ बाट फेरी सुरु, सन्दिप भने नजाने, भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आइपीएल) मा कोलकता र हैदराबाद भिड्दै ।

१०.र, अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाखभन्दा धेरै, भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ५२ हजार संक्रमित, जापानी प्रधानमन्त्रीले भारत र फिलिपिन्सको भ्रमण गर्ने
म्यान्मारमा रोकिएन सैन्य सरकारको दमन, एकै दिन ८० जनाको हत्या, बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ मा हुने, इन्डोनेसियामा भूकम्प जाँदा ७ जनाको मृत्यु, सोमालियाको विस्फोटमा पाँचको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्