Logo
Logo

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ फागुन । राष्ट्रियसभाको आइतबारको बैठक स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक २१ फागुन मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची थियो ।
यसैगरी विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरी पारित गर्ने कार्यसूची थियो ।
त्यस्तै आजका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण स्थगित गरिएको सचिवालयले जनाएको छ । नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो ।
संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक, अन्तर्रा्ष्ट्रिय सम्बन्ध, सार्वजनिक लेखा समितिका बैठकहरू आजका लागि डाकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्