Logo
Logo

‘लैजाउ तिमेर्को समर्थन, चाहिया छैन’


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतबाट एमाले र माओवादी ब्युँतिए देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलाई सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्न चुनौती दिने गरेका छन् ।

विभिन्न सञ्चारमाध्यमलाई अन्तवार्ता दिँदा होस् वा सार्वजनिक कार्यक्रममा ओलीले समर्थन फिर्ता लिएर सरकार परिवर्तन गर्न चुनौती दिने गरेका छन् । तर, अहिलेसम्म पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिन भने सकेको छैन ।

सार्वजनिक कार्यक्रममा नयाँ सरकार बनाउने तयारी भइरहेको कांग्रेस र माओवादी केन्द्रले उद्घोष गरिरहेको भएपनि ठोस निष्कर्ष ननिस्कँदा ओली झन् मैमत्ता भएका छन् ।

नयाँ सरकार र समीकरणका विषयमा माओवादी लक्षित सोमबार पनि ओलीको अभिव्यक्ति आएको छ । सोमबार उत्पीडित जातीय मुक्ति समाजको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले माओवादीको समर्थन नचाइएको भन्दै फिर्ता लिन भनेका हुन् ।

हाल माओवादी केन्द्रको समर्थनका कारण नै एमाले नेतृत्वको सरकार चलिरहेको छ । माओवादीले समर्थन फिर्ता लिएको भोलिपल्ट सरकार अल्पमतमा पर्नेछ । तर, ओलीले सोमबार भने ‘ राजीनामा देउ, राजीनामा देउ… कति रोएका हौ ? हटाउ न । समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने, राजीनामा देउ, राजीनामा देउ । म सँग बहुमत छ । किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेउ, लैजाउ । चाइया छैन तिम्रो समर्थन लैजाउ । ’

प्रधानमन्त्री ओलीले निरन्तर माओवादीलाई चुनौती दिँदा पनि माओवादी अघि बढ्न नसकेको अवस्था जगजाहेर छ । नयाँ सरकार बनाउन कांग्रेस तयार भएपनि जसपा अनिर्णीत हुँदा माओवादी अहिले नै ओलीलाई दिएको समर्थन फिर्ता लिएर राजनीतिक गतिरोध निम्त्याउन चाहँदैन । त्यसैले पनि ओलीले दिएका हरेक चुनौती माओवादी सुन्न र सहन बाध्य छ ।

कार्यक्रममा ओलीले नयाँ सरकार बनाउनका लागि भइरहेको कसरतको पनि खिसिट्युरी गरे । नयाँ सरकार बनाउन माओवादीले गरिरहेको प्रयासबारे ओलीले कटाक्ष गरे । उनले भने ‘एकेडेमीको डबलीमा जो भेट्यो त्यै.. ए भाइ ! मन्त्री÷प्रधानमन्त्री भइदेउन हौ । ए भाइ ! प्रधानमन्त्री भइदेउन हौ, ए भाइ ! प्रधानमन्त्री भइदेउन हौ, ए भाइ ! प्रधानमन्त्री भइदेउन हौ । शेरबाहादुरजीलाई भेट्यो, दाइ ! प्रधानमन्त्री भइदेउन हौ । महन्थजीलाई भेट्यो ए दाइ ! प्रधानमन्त्री भइदेउन हौ ।’

प्रधानमन्त्रीको यो भनाइ हाल भइरहेको नयाँ समीकरण लक्षित थियो । माओवादी आफूले प्रधानमन्त्रीको दावी नगर्ने सार्वजनिक रूपमै उद्घोष गरेपछि प्रधानमन्त्री बन्ने चाहना राख्न सकिरहेको छैन । उता, कांग्रेसले सरकार बनाउन खुट्टा उचालेपनि जसपा नै अन्तिम अस्त्र भएको हुँदा अहिले मौनता साँध्नुको विकल्प देखिएको पनि छैन ।

ओलीले त्यसैले पनि कार्यक्रममा भने ‘जता हेर्यो प्रधानमन्त्री भइदिनुपर्ने । किनभने, कम्युनिष्ट सरकार ढल्नु पर्‍यो । त्यसकारण शेरबहादुरजी भइदिनु पर्‍यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी, प्रधानमन्त्री भइदिनुपर्‍यो । कम्युनिष्ट आन्दोलन बचाउनलाई । यस्ता नक्कली कुरा गर्ने तत्वहरू अहिले पनि छन् । सलबलाईरहेका छन् । ’

ओलीले बोलेका हरेक अभिव्यक्ति धेरैका लागि मनोरञ्जन झैँ लागेपनि माओवादीका लागि चुनौती हो । प्रतिगमन विरुद्धको आन्दोलन सुरु भएदेखि नै ओलीलाई सरकारबाट हटाउने कसरत गरिरहेपनि अहिलेसम्म सिन्को भाँच्न नसक्नुप्रति ओलीको खिसिट्युरी हो ।

साथै, जसपाले अहिलेसम्म खुलेर कुरा नगर्नु, ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुरको हिमचिम भइरहनुले पनि ओलीले माओवादीलाई यतिसम्म प्रहार गर्न सकिरहेका छन् ।

उता, आइतबार बसेको जसपाको पदाधिकारी बैठकले कांग्रेसलाई नयाँ सरकारको नेतृत्वको रूपमा स्वीकार्न नसकिने निष्कर्ष निकाल्दा ओलीले राहत महसुस गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्