काठमाडाैं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एमाले सांसद गोकुल बास्कोटालाई पनि राखिएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकले सेक्युरिटी प्रिटिङ प्रेसमा ७० करोडको घुस डिल गरेको आरोप लागेका एमाले सांसद गोकुल बास्कोटालाई सार्वजनिक लेखा समितिमा गरेको सिफारिस अनुमोदन गरेको हो ।

बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादित बनेका थिए । लेखा समितिले खरिद प्रकरणमा त्रुटि रहेको भन्दै थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । समितिले यससम्बन्धी छानबिनको प्रगति विवरण माग गर्दै केही महिनाअघि आयोगलाई पत्र लेखेको थियो ।
यस्तै, ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतमलाई पनि लेखा समिति सदस्यमा राखिएको छ । स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीलाई ठेक्का दिइएको विषयमा उपप्रधानमन्त्री पोखरेल विवादमा तानिएका थिए । यो प्रकरणमा पनि लेखा समितिले अनियमितता औंल्याएर थप छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।
बाँस्कोटाले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । सो अडियो बाहिर आएपछि बाँसकोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न समितिमा भएका हेरफेरको सूची प्रतिनिधि सभाको बैठकमा सोमबार पेश गरेका हुन् ।
नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको थियो । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको थियो ।












