Logo
Logo

काठमडौं उपत्यकामा कडाइ : लगाएको मास्क फ्याँके कारवाही


दृष्टि संवाददाता


काठमडौं । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो । अब त्यसरी मास्क फ्याँक्नेलाई कारवाही गर्ने गरी उपत्यकाको प्रशासनले नयाँ व्यवस्था लागू गरेको छ ।

मुख्यगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ । अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारवाही हुनेछ ।

घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको छ । सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सरकारी आदेशअनुसार काठमाडौँ प्रशासनले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो । नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार महत्वपूर्ण निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा गृहमन्त्रालयबाट प्राप्त निर्देशनानुसार आज काठमाडौँ प्रशासनले विशेष सूचना जारी गरी सावधानी अपनाउन भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले मास्क र भाइजर अनिवार्यरूपमा लगाउन भनेको छ ।

सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाई आएमा चालक तथा सहचालकले बढीमा रु १० लिई उपलब्ध गराउन पनि आज विशेष सूचना जारी गरी जनाएको छ । मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्