Logo
Logo
सत्ता समीकरण

सरकार विरुद्धको अविश्वासको प्रस्तावमा यसरी जुट्दै छ सहमति

जसपा र माधव–झलनाथ पक्षको निर्णयमा निर्भर


दृष्टि संवाददाता


काठमाडौं । सरकार विरुद्धको अविश्वासको प्रस्ताव दर्ताका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाल्न दुबै दल नेपाली कांग्रेस र माओवादी केन्द्र सहमत छन् ।

तर, अविश्वासको प्रस्ताव कसरी लैजाने भन्नेबारे ठोस सहमति बनेको छैन । त्यसका लागि एक दुईदिनमै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुने भएको छ ।

उनीहरुबीच भएको छलफलले नयाँ सत्ता समीकरण बनाउँदै सरकारविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गर्ने रणनीति तयार गर्ने एक नेताले जानकारी दिए । उनले भने, ‘एक–दुईदिनभित्रै अविश्वासको प्रस्ताव दर्ताको काम हुन्छ ।

कांग्रेस सभापति प्रधानमन्त्री प्रस्ताव गरेर अघि बढ्ने अनौपचारिक सहमति छ । अब अविश्वासको प्रस्ताव दर्ता गर्ने र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने काम एकैपटक हुन्छ ।’ यता, कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका छन् ।

सह–महामन्त्री डा. प्रकाशशरण महतले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएको जानकारी दिए । उनले भने, ‘संसद अधिवेशन अन्त्य गर्नु गलत भएको छ । तर, पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।

अनि प्रक्रिया अघि बढाउँन पनि हाउस बोलाउनै पर्छ ।’ तर कांग्रेस सभापति देउवाले भने जनता समाजवादी पार्टीको निर्णय र माधव–झलनाथ समूहका तयारीलाई पनि नजिकबाट हेरेका छन् । हिजो मात्र ओली र माधव नेपालबीच भएको वन अ वन वार्ताले पनि आगामी राजनीतिक निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्