Logo
Logo

बक्रदृष्टि: देउवाको भकभकले रामचन्द्र अलमलमा !


दृष्टि संवाददाता


 

देउवाको भकभक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अचम्मैका छन् । बालुवाटार छिरेर एउटा कुरा गर्छन्, बालुवाटारबाट बाहिरिए अर्को कुरा ! उनको कुन कुरा पत्याउने, कुन कुरा नपत्याउने ? भनेर रामचन्द्र पौडेल अलमलमा परेका छन् ।

नेविसंघको ५२औँ स्थापना दिवस थियो । बाल्मिकी क्याम्पसमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थिए उनै देउवा । उक्त कार्यक्रममा नेविसंघको इतिहासबारे धेरै बोलेनन् । माइकमा पुग्नासाथ भकभकाउँदै ओलीतर्फ खनिए ।

देउवाले ओलीलाई भारतको टाङमुनि छिरेको बताए । देउवाले भनेपछि पत्याउनै पर्यो, किनभने सर्पको खुट्टा सर्पले देख्छ भन्छन् ! कसो प्रकाशशरण महतज्यू ?

प्रदीप ज्ञवाली ट्वाँ !
नामै पर–राष्ट्र भनेपछि परबाटै राष्ट्र चल्ने भयो । अस्ति आइतबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक थियो । त्यस बैठकमा पर–राष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माओवादी नभए पनि देश चल्छ भने ।

ज्ञवालीको कुरो सुनेर सांसद दिव्यमणि राजभण्डारीको कञ्चटको रौं तात्यो । मन्त्री ज्ञवाली बोल्दा बोल्दै राजभण्डारीले भने, ए मन्त्री ज्यू, के बोलेको ? कुनै एउटा पार्टीलाई ‘बाइकट’ गरेर जाँदा त्यसको सन्देश कूटनीति क्षेत्रमा कस्तो जान्छ ? राजभण्डारीको कुरो सुनेर गुल्मी क्षेत्र नं. २ बाट माओवादीको ५ हजार ६६१ मत ल्याएर चुनाव जितेका ज्ञवाली ट्वाँ परे ।

मर्ता क्या नही कर्ता ?
पार्टी सुदृढीकरण अभियानको सिलसिलामा काभ्रे पुगेका माधव नेपालले भने– कर्णाली प्रदेशमा मै हुँ प्रदेश प्रमुख, मै हुँ मुख्यमन्त्री, मैले भनेको मानिनस् भने तेरो राजनीतिक जीवन सिध्याइदिन्छु भनेर बालुवाटारबाट धम्की दिएपछि ओली आफैँ सिद्धिए ।

सबै कुरा मै हुँ भन्दाभन्दै अझै कति ठाउँमा सिद्धिने हो, थाहा छैन । तै पनि अझै मै हुँ भन्दै ओलीले दम्भ देखाएपछि ओलीलाई संसद् विघटन गर्न उस्काउने लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद पनि धरापमा परेको देखेर घनश्याम भुसाल पेट मिचीमिची हाँसेका छन् ।

कसो दुगड कमरेड ?
प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निदहराम गर्न राम जन्मभूमि भारतको अयोध्यामा नभई चितवनको माडीमा भएको कुरा छ महिना अगाडि के बताएका थिए, प्रचण्ड पनि राम नाम जप्दै माडी पुगेका छन् ।

माडी पुगेर प्रचण्डले कुरै नबुझी राम जन्मभूमिको विकासमा आफू लागिपर्ने र राम जन्मभूमि पत्ता लगाएर छाड्ने बताएको समाचार सुनेर बालुवाटार दंग छ । किनभने, प्रचण्डले राम जन्मभूमिको कुरा मोदीलाई बल्छी थाप्न गरेका हुन् भन्ने बुरै बुझेनन् । कसो, मोतीलाल दुगड कमरेड ?

(व्यङ्ग्यात्मक प्रस्तुति ‘बक्रदृष्टि’ दृष्टि साप्ताहिकको स्तम्भ हो ।)

प्रतिक्रिया दिनुहोस्