Logo
Logo

‘हट बिट’बाट गायिका बनेकी हुँ : रुची घिमिरे, गायिका


दृष्टि संवाददाता


गायिका रुची घिमिरे नामजस्तै गायनमा पनि सानैदेखि रुची राख्थिन् । नेपालगञ्जले रुचीले कहिलेबाट गाउन थालिन् त ? त्यो उनलाइर्् पनि ठ्याक्कै थाहा छैन । तर, कक्षा ९ मा पढ्दै सांगीतिक समूह बनाएर उनी संगीतमा होमिएकी हुन् । ‘हट बिट’ नामक सांगीतिक समूहकी भोकलिस्ट रुची भन्छिन्, ‘त्यो बेला नेपालगञ्जमा हुने हरेक कार्यक्रममा कन्सर्ट गर्दथ्यौँ ।’ तर, उक्त सांगीतिक समूहका मेम्बरहरुमध्ये रुची र मेल भोकलिस्ट हेमन्त रानामात्र संगीतमा थामिए । अरु आ–आफ्नो बाटो लागिसकेका छन् । हेमन्त राना संगीत क्षेत्रमा चर्चित छन् ।रुचीको समेत गायनमा केही वर्ष ‘बे्रक’ भयो । नेपालगञ्जदेखि विवाह गरेर काठमाडौं आएपछि केही वर्ष गायनमा ‘ब्रेक’ लागेको सुनाउँदै उनले भनिन्, ‘पाँच वर्षयता निरन्तर छु ।’ सांगीतिक समूह ‘हट बिट’मा हुँदा दर्जनौँ कन्सर्ट गरेकी रुचीले एक दर्जनभन्दा बढी गीत रेकर्ड गराएकी छन् । हालैमात्र उनको ‘कालो कोठी’ बोलको सार्वजनिक भएको छ । गायिका रुचीसँग दृष्टि साप्ताहिकको जम्काभेट :

गाउन सुरु गर्नुभएको कति भयो ?

सानैदेखि गाउँथे । त्यो हिसाबले २०÷२५ वर्ष भयो । तर, औपचारिक रुपमा गाउन थालेको चाहिँ ९ कक्षामा पढ्दादेखि हो । नेपालगञ्जमा हामी साथीहरुसँग मिलेर सांगीतिक ब्याण्ड ‘हट बिट’ स्थापना गरेर कन्सर्टहरु गाउन थालेकी हुँ ।

तपाइँ ‘हट बिट’ भोकलिस्ट हो ?

हो, हाम्रो समूहमा धेरै जना थियौँ । म फिमेल भोकलिस्ट थिएँ । मेलमा हेमन्त राना हुनुहुन्थ्यो । अरु म्युजिसियन थिए ।

त्यो बेला कसरी सांगीतिक ब्याण्ड बनाउने सोच आयो ?

त्यो बेला म १५ वर्षकी थिएँ । म सानैदेखि गाउन रुचाउने । त्यो बेला नेपालगञ्जमा दुई ब्याण्ड ‘ओसिस’ र ‘यङ गाइज’ थियो । ती ब्याण्डबाट प्रभावित भएर हामी पनि केही गरौँ न भनेर ‘हट बिट’ स्थापना गरेका हौँ । ब्याण्डका मेम्बर सबै सानै थियौँ । हामीलाई घरबाट समेत सर्पोट थिएन । हामी आफैँले कन्सर्ट र देउसी भैलो खेलेर सामान जोडेका थियौँ ।

ब्याण्ड स्थापना गरेर कहाँ–कहाँ कन्सर्ट गर्नुभयो ?

हामी नेपालगञ्जमा मात्र केन्द्रित थियौँ । सबैजना सानै थियौँ । त्यसैले टाढा–टाढा कन्सर्टका लागि गएनौँ । नेपालगञ्जचाहिँ हरेक कार्यक्रममा हाम्रो प्रस्तुती हुन्थ्यो ।

‘हट बिट’ अहिले छ कि छैन ?

छैन । ब्याण्डका मेम्बरहरु आ–आफ्नै बाटो लागे । म पनि विवाह गरेर काठमाडौं आएँ । त्यसपछि अरु पनि आ–आफ्नै बाटो लागे । यो सांगीतिक ब्याण्डका म र हेमन्त रानामात्र सांगीतिक क्षेत्रमा सक्रिय छौँ । उहाँले अहिलेसम्म यो कुरा बाहिर ल्याउनु भएकै छैन । आज यहाँ पहिलोपटक भन्दैछु, उहाँ र मेरो सांगीतिक करिअर सँगै सुरु भएको हो ।

कन्सर्टमा कस्तो गीत गाउनुहुन्थ्यो ?

त्यो समयमा पप गीत चलेको थियो । सांगीतिक ब्याण्डको जगजगी थियो । हामी पनि पप नै बढी गाउँथ्यौँ ।

हिजोआज पनि पप नै गाउनुहुन्छ ?

अहिले त म आधुनिक र क्लासिकल गाउँछु । लोक गीतचाहिँ गाएकी छैन । तीज गीत र भजन पनि गाउने गरेकी छु ।

विवाहपछि गायनमा कति समय ‘ब्रेक’ भयो ?

विवाह गरेका आएको डेढ वर्षपछि नेपालगञ्ज गएपछि आफ्नै शब्द, संगीतमा एउटा गीत गाएँ । ‘तोडी गयो दिल मेरो’ बोलको त्यो मेरो पहिलो रेकर्डिङ गीत पनि हो । तर, त्यतिखेर त्यो गीत बाहिर ल्याइनँ । झण्डै १५ वर्षपछि मात्र यु–ट्युबमा हालेँ । रेडियो एमएमहरलाई दिएँ । राम्रो रेश्पोन्स पनि पाएँ । त्यही गीतबाट ‘स्टार इन्टरनेशनल अवार्ड’ पनि पाएँ ।

विवाह गर्दा कति वर्षको हुनुहुन्थ्यो ?

त्यो बेला २० वर्षकी थिएँ । मैले सानैमा विवाह गरेकी हुँ । मेरो छोरो नै १९ वर्षको भयो । अहिले छोराले पनि मलाई सर्पोट गरिरहेको छ ।

प्रेम विवाह गर्नुभएको हो ?

दुइटै भन्नुपर्ला अलि अलि प्रेम, त्यसपछि मागी विवाह गरेकी हुँ ।

श्रीमान कतिको सर्पोट पाउनुभएको छ ?

मलाई उहाँको फूलसर्पोट छ । श्रीमान, छोरा, आमा बुबा सबैका सर्पोटले नै अहिले गीत संगीतलाई निरन्तरता दिरहेकी छु ।

संगीतको औपचारिक शिक्षा कहाँ लिनुभयो ?

काठमाडौंमै लिएकी हुँ । कलानिधि संगीत विद्यालयमा दुई वर्ष संगीत सिकेँ । त्यसपछि भारतीय एम्बेसीमा पनि सिकेँ ।

तपाइँको दर्शक तथा श्रोताले रुचाएको गीत कुन हो ?

पछिल्लो गीत भन्नुपर्दा ‘गालैको कोठीमा’ हो । गीतको शब्द सुमन बैरागीले लेख्नुभएको हो । यो गीतबाट एउटा अवार्ड पाइसकेकी छु भने तीन वटा अवार्डमा मनोनयनमा परेको छ ।

सांगीतिक क्षेत्रबाट खुसी हुनुहुन्छ ?

एकदमै खुसी छु । जति गरिरहेकी छु, त्यसबाट सन्तुष्टि पनि छु ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्