Logo
Logo
१३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

मजदूर आन्दोलनसँगै सुरु भएको विशेष दिन

भर्खर रोजगारी पाएको बेला कोरोनाको अर्को भेरियन्ट आएर त्यही रोजगारी पनि खोसिने हो कि ?


दृष्टि संवाददाता



काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको हो । १३१औँ श्रमिक दिवसमा पनि कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन । नेपालमा यो वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।

विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

सरकारले बढ्दो कोरानाको जोखिमका कारण उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा, आंशिक बन्द भएकाले श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले सामान्य भर्चुअलबाहेक अन्य औपचारिक कार्यक्रम गर्न सम्भव नभएको जानकारी दिएका छन् ।

अघिल्लो वर्ष कोरोनाको कहरले देशमा लामो समय जारी बन्दाबन्दीमा सबैभन्दा बढी समस्यामा श्रमिक परेका थिए । नेपालमा मात्र होइन, संसारभरि नै । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का अनुसार गत वर्ष कोरोनाका कारण नेपालमा हरेक पाँच जनामा दुई जनाले रोजगारी गुमाएका थिए ।

ती रोजगारी गुमाएकाले भर्खर रोजगारी पाएको बेला कोरोनाको अर्को भेरियन्ट आएर त्यही रोजगारी पनि खोसिने हो कि ? भन्ने चिन्ता श्रमिकसमक्ष पुनः उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्