Logo
Logo

देश विभाजन गर्नुपर्छ भन्नेलाई मूलधारमा ल्याउनुु राम्रो : देउवा


- दृष्टि न्युज/संवाददाता


बेनी, २६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।’
सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत संग्र्रहका रुपमा स्वीकार गर्न नसकिने बताए । ‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत संग्रह हुन सक्दैन’, उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले केही बुँदामा अस्पष्टता भए त्यसलाई सरकारले प्रस्ट पार्नु पर्ने बताउँदै आफूले पार्टीमा कसैको अधिकार नखोसेको स्पष्ट पारे । पार्टीको विधानानुसार नै आफू चलेको बताउँदै उनले पार्टीमा आन्तरिक प्रतिस्पर्धाका लागि सबैलाई खुला रहेको समेत बताए । ‘पार्टीमा चुनाव लड्न सबैलाई अधिकार छ, पार्टीभित्रको एकता कायम गर्न म सधँै तयार छु,’ उनले भने ।
सभापति देउवाले नेविसंघभित्रको उमेरहद र निर्वाचनको विवाद संगठनभित्रको आन्तरिक विवाद रहेको उल्लेख गर्दै विद्यानानुसार नै पार्टीलाई अघि बढाइने बताए । वाइडबडी भष्ट्राचारमा तत्कालीन सरकारको नेतृत्व आफूले गरेको भए पनि मन्त्रालय आफूसँग नजोडिएकाले आफूलाई केही जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्