Logo
Logo

बोइङ–७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह, चीन र इथोपियामा उडान स्थगित


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, २७ फागुन (एएफपी) । यो ६ महिनाभित्रै दोस्रोपटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षाबारे अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।
बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ । चीनको यस कदमका कारण अरु देशले पनि यस्तै निर्णय गर्न सक्नेछन् ।
आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही ७३७ मोडेलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।
पछिल्लो दुर्घटनाका बारेमा महत्वपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानी संग्रह गर्ने दुईवटा ब्लाक बक्स हुन् । यी दुई उपकरणमा संग्रह हुने सूचनाको विश्लेषण र अध्ययनबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा अरु कारणहरु पत्ता लाग्न सक्दछ ।
‘पाइलटले कठिनाई अनुभव गरेको र फर्कन चाहेको बताएका थिए । उनलाई फर्कने आदेश दिइएको थियो,’ इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आदिस अबाबामा पत्रकारहरुलाई बताए । विमान उडानका बखत इथियोपियाली राजधानी आदिस अबाबाको मौसम राम्रो थियो ।
टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबुलाफियाले भने ‘दुबै दुर्घटनाग्रस्त जहाज एकै मोडेलका हुन् । लायन एयर झैं इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको देखिन्छ र पाइलटले पनि प्राविधिक समस्या आएको खबर गर्नासाथ दुबै विमान दुर्घटनाग्रस्त भएका छन् । दुबैमा एकै प्रकृतिको समस्या देखियो ।’ चिनीया नागरिक उड्डयन अधिकारीहरुले पनि दुबै ज्यानमारा दुर्घटनाबीच समानता देखिएको बताएका छन् । विमानको सुरक्षामा निश्चिन्त नहुँदासम्म यी मोडेलका विमान उडान रोक्ने निर्णय भएको उनीहरुले बताए ।
बोइङले ७३७ म्याक्स मोडेलका ७६ वटा विमान चिनीया एयरलाइन्सलाई बिक्री गरिसकेको छ भने अरु १०४ वटा विमानका लागि आदेश दिइसकेको छ । विश्वका इन्डोनेसिया समेत अरू कतिपय मुलुकमा पनि बोइङ ७३७ म्याक्स मोडेलका विमान सञ्चालनमा छन् ।
लायन एयर दुर्घटनाग्रस्त भएयता ७३७ म्याक्सप्रति उड्डयन क्षेत्रमा चासो र शंकाका दृष्टिले हेर्न थालिएको छ । मे २०१७ मा बोइङले ७३७ म्याक्स विमानको परीक्षण उडान समेत स्थगित गरेको थियो । यस जहाजको इन्जिन फ्रान्सको सफ्रान एयरक्राफ्ट इन्जिन्स र जीई एयिएसनको संयुक्त साझेदारीमा निर्माण गरिएको सीएफएम इन्टरनेसनल नामको कम्पनीले बनाएको हो ।
जनवरीको अन्त्यतिर बोइङले दुई इन्जिनयुक्त न्यारो–बडीका ३५० थान विमान बिक्री गरेको थियो जबकी बोइङसँग पाँच हजार ११ थान जहाजको माग आएको थियो । पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो । यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन् ।
‘अर्को दशकमा बोइङका लागि म्याक्स निकै महत्वपूर्ण कार्यक्रम हो । सन् २०३२ सम्म कम्पनीका उत्पादनको करिब ६४ प्रतिशत हिस्सा यही मोडेलको हुनेछ,’ बजार विश्लेषक मिसेल मार्लुजीले बताए । ‘विश्वको यातायात र व्यापारका लागि यो अत्यावश्यक साधन हो ।’ बोइङले इथियोपियन एयरलाइन्स दुर्घटनाबाट आफूहरु अति दुःखी भएको जनाएको छ । अनुसन्धानकर्ताहरुलाई बोइङका प्राविधिकहरुले पूर्ण सहयोग गर्ने पनि बोइङको भनाई छ ।
विज्ञहरुले पछिल्ला दुई घटनाले बोइङको बजार प्रभावित हुन सक्ने बताएका छन् । तर कम्पनीलाई हुन सक्ने क्षति सीमित मात्र हुनेछ किनभने यसको प्रतिस्पर्धी हाल एयरबस कम्पनीमात्र रहेको छ । बोइङको प्रतिष्ठा र अस्तित्वसँगै जोडिएकाले कम्पनीले सबै किसिमका प्राविधिक समस्या सुल्झाउन भरमग्दूर प्रयत्न पनि गर्नेछ । इन्डोनेसियामा अक्टोबर २९ मा भएको दुर्घटनापछि नै हवाई उड्डयन क्षेत्रका विज्ञहरुले विमानका बारेमा पर्याप्त सूचना सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका थिए ।

चीनमा तत्काल नउडाउन निर्देशन
चीनले आन्तरिक एयरलाइन्स कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको व्यापारिक, व्यावसायिक उडान तत्काल स्थगन गर्न निर्देशन दिएको छ । यही मोडेलका दुई वटा विमान छ महिनाको अन्तरालमा उड्नासाथ दुर्घटनाग्रस्त भएपछि चीनले यो कदम चालेको हो ।
दुबै दुर्घटनामा एकै किसिमका समस्या देखिएको भन्दै चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहु“दासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमानहरु नउडाउन निर्देशन दिएको छ ।
प्रशासनले जारी गरेको एक वक्तव्यमा उडान सुरक्षामा भरपर्दो र सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने उल्लेख गरेको छ । वक्तव्यमा उड्डयन प्रशासनले अमेरिकी संघीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने बताइएको छ । बोइङ र कमर्सियल एयरक्राङ्खट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ ।
यो कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो । यो विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ ।

इथियोपियन एयरलाइन्सद्वारा ७३७ म्याक्सका उडान स्थगित
इथियोपियन एयरलाइन्सले बोइङ ७३७ म्याक्स मोडेको विमान दुर्घटनाग्रस्त भएसँगै यस मोडेलका अरु विमान तत्काल नउडाउने निर्णय गरेको छ । ‘इटी ३०२ को दुखदायी दुर्घटनासँगै इथियोपियन एयरलाइन्सका सबै बी–७३७–८ म्याक्स विमानहरुको उडान अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको छ ।’ एयरलाइन्सका तर्फबाट जारी ट्वीटमा भनिएको छ । इथियोपियन एयरलाइन्स इथियोपियाको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्