Logo
Logo

वीरगञ्जमा थप चार संक्रमितको मृत्यु


दृष्टि संवाददाता


वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा शनिबार थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११ः५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १९ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको इमरजेन्सी वार्डमा राखी स्वाब संकलन गरी पीसीआर गराउँदा भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, नारायणी अस्पतालमा रौतहटका ५५ वर्षीय पुरुष, बाराका ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । रौतहटको सिर्सियाका ५५ वर्षीय पुरुषको बिहान पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । एन्टिजेन परीक्षणका क्रममा वैशाख २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, बाराका ४५ वर्षीय संक्रमित पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनमा पनि वैशाख २१ गते गरिएको एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट उनी नारायणी अस्पतालमा भर्ना भएका थिए ।

बाराकै जितपुरसिमरा उपमहानगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । भारतको नयाँदिल्लीमा गरिएको पीसीआर परीक्षणका क्रममा उनमा वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पछि स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्