Logo
Logo

सुदूरपश्चिमका दुई सीमानाकामा होल्डिङ सेन्टर बन्दै


दृष्टि संवाददाता


धनगढी । कञ्चनपुरको भारतसँग जोडिएका सीमानाका क्षेत्रमा ‘होल्डिङ सेन्टर’ निमार्ण हुने भएको छ । जिल्लाको पश्चिमी सीमानाका गड्डाचौकी र दक्षिणी सीमानाका गौरीफन्टामा एक/एक हजार जना क्षमताको दुई वटा ‘होल्डिङ सेन्टर’ निमार्ण गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकामा हाल अवस्थित हेल्थ डेस्कको पूर्वतिर एक हजार जना क्षमताको होल्डिङ सेन्टर निमार्ण गरिनेछ भने गौरीफन्टा नाकाको हकमा कञ्चनपुर जिल्लाको भूभाग या कैलाली जिल्लाको भूभाग मध्ये एक जिल्लाको भूभागलाई सहमतिअनुसार उक्त क्षेत्रमा होल्डिङ सेन्टर निमार्ण गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार भारतबाट दिनप्रति दिन नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई सीमा क्षेत्रमा समस्यामा परेका कारण स्थानीय तहलगायत संघसंस्थाको सहयोगमा अस्थायी होल्डिङ सेन्टर निमार्ण गर्ने तयारी गरिएको हो । भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिहरु स्वदेश भित्रिने बेला सिमा क्षेत्रमा निषेधआज्ञाका कारण समस्यामा पर्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘निषेध आज्ञाको समय अवधिभर सिमाक्षेत्रमा यातायातको समस्या भएका नागरिकहरुलाई सुरक्षित गन्तव्य सम्म पुगाउनको लागि शौचालय, बसोबास, खाना तथा पानीको सुविधा प्रत्याभुत हुने गरी होल्डिङ सेन्टर निमार्ण केही दिनमै सम्पन्न हुने गरी तयारीमा जुटेका छौ ।’

पश्चिमी सीमानाका गड्डाचौकीमा निमार्ण गर्न लागिएको हजार जना क्षमताको होल्डिङ सेन्टरमा भीमदत्त नगरपालिकाले आवश्यक सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्