Logo
Logo

बक्यौता नतिर्ने ६१६ ग्राहकको लाइन काटियो


- दृष्टि न्युज/संवाददाता


दमौली, २९ फागुन । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।
साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनका अनुसार लाइन काटेर कारबाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।
वितरण केन्द्रले चालू आर्थिक वर्षमा ६१६ ग्राहकको लाइन काटेकामा ५०३ ग्राहकले विद्युत् महसुल बक्यौता तिरेको गोशलीले जानकारी दिए । ती ग्राहकबाट रु एक करोड ६३ हजार ८६१ बक्यौता असुल भएको छ । बक्यौता रकम बुझाएपछि ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ ।
विद्युत् महसुल संकलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई दुई प्रतिशत छुट दिइन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।
त्यस्तै मिटर रिडिङ गरेको २३औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत् महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर लाग्नेछ । विनियमावलीमा उल्लेख भएअनुसार मिटर रिडिङ गरेको ३१औँ दिनदेखि ४० औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा १० प्रतिशत थप दस्तुर लाग्छ भने ४१औँ दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ ।
विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सक्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्