Logo
Logo
समाचार विश्लेषण

ओलीको सत्ता यात्राले निरन्तरता पाए मुलुकको भविष्य संकटमा


दृष्टि संवाददाता


दुईतिहाइ बहुमतको ‘बलवान’ प्रधानमन्त्रीको रुपमा सुरु भएको केपी शर्मा ओलीको ‘सेकेन्ड इनिङ’को सत्ता यात्रा अल्पमतहुँदै पदच्युतमा पुगेर रोकियो । प्रधानमन्त्रीलाई विश्वासको मत प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइयो । तर, आफैले असंवैधानिक रुपमा विघटन गरेको संसदले ओलीलाई विश्वास गर्न सकेन । र, संवैधानिक रुपमै पदच्युत भए ।

तत्कालका लागि ओली पदच्युत त भए । तर, फेरि ओलीनै प्रधानमन्त्री बन्ने सम्भावना उत्तिकै छ । संवैधानिक व्यस्था र पछिल्लो राजनीतिक घटनाक्रमले ओली चाहना पुरा हुनसक्ने संकेत गर्छ । यदि, ओली नै प्रधानमन्त्री भए देश मध्यावधि निर्वाचनमा केन्द्रित हुन्छ । त्यो देश बर्बादीतर्फ लैजानु हो ।

ओलीले विश्वासको मत लिएर औपचारिकता पुरा गरे । उनको अन्तिम गोल ठूलो दलको हैसियतले फेरि संसद् विघटन गर्ने र मंसिरमा मध्यावधि निर्वाचन गर्ने हो । विश्वासको मत लिने क्रममा पनि उनले भनेका थिए– ‘संसद विघटन नगर्ने भए विश्वासको मत दिनुहोस् । मलाई विश्वासको मत नदिने भए संसद विघटन हुन्छ ।’ यो भनाइले पनि ओलीको योजना संकेत गर्छ ।

आफ्नै घरमा आगो लगाएर दुनियाँलाई उज्यालो देखाउने प्रवृत्ति देखियो, ओलीमा । उनमा यति दम्भ र हठ गुम्सिएको छ कि त्यसले मुलुकको भविष्य नै रसातलतर्फ पुग्ने खतरा बढेको छ । धरहरा भन्दा अग्लो अहंकार प्रदर्शन गरिरहेका ओलीले विधि विधान र राजनीतिक प्रणालीलाई नै भत्काउँदै लगेका छन् । जनताले लामो संघर्ष गरेर प्राप्त गरेका उपलब्धिलाई नै सिध्याउने ग्रान्डडिजाइनमा उनी सरिक भएका छन् ।

ओलीले नेपाल कम्युनिस्ट पार्टीको वैधानिक विभाजनको मार्ग तयार गरे । एमाले र माओवादी केन्द्र ब्युँतियो । त्यसपछि उनले एमाले भत्काउन शुरु गरे । नवौं महाधिवेशनबाट हजारौं एमाले कार्यकर्ताले दिएको म्यान्डेट लत्याए । विधान विपरित जर्बजस्ती काम गरे । उनको गलत गतिविधिको आलोचना गर्नेहरुलाई पेलेरै भित्तामा पुर्याउने कार्य गरे ।

यसरी ओलीले आफै हुर्के बढेको एमाले पार्टीलाई भताभुङ्ग पार्न खोजे । तैपनि उनी कुनैबेला आफैले विघटन गरेको प्रतिनिधि सभामा उभिएर सोमबार विश्वासको मत लिने क्रममा देशमा अहिलेसम्म कसैले गर्न नसकेको काम गरेको दाबी गर्न पुगे ।

ओलीले विश्वासको मत गुमाउञ्जेलसम्म देशमा कहिले नभएका राजनीतिक मूल्य मान्यता विपरितका गतिविधि भइसकेका छन् । इतिहासमा यतिसम्म अनैतिक राजनीतिक घटनाहरु आधुनिक नेपालमा कहिल्यै भएका थिएनन्, जुन बितेको एक वर्षमा भएका छन् । गलतलाई गलत भन्दा आफ्नै पार्टीका नेताहरुलाई ओलीले तर्साउने र धम्क्याउने सम्म गरे ।

ओली निरंकुशताले हद नाघ्यो । त्यसविरुद्ध पार्टीभित्र विद्रोहका आवाज गुञ्जिए । अन्ततः एमालेभित्रै ओली निरंकुशताविरुद्ध लागेकाहरु ‘सुसाइड गोल’ गर्नेसम्मको अवस्थामा पुगे । नेपालको संसदीय इतिहासमा कहिले नभएको ‘फ्लोर क्रस’ ओलीको शासनकालमा भयो । विरोधीलाई सिध्याउने उनको रणनीतिलाई विफल बनाउन प्रदेशमा ‘फ्लोर क्रस’ घटना भयो ।

दुईतिहाइ बहुमतको ‘बलवान’ प्रधानमन्त्रीको रुपमा सुरु केपी ओलीको ‘सेकेन्ड इनिङ’को सत्ता यात्रा अल्पमतहुँदै पदच्युतमा रोकियो । यो अवधिमा ओलीबाट जे जस्ता गतिविधि भए ति राष्ट्रहितमा भएनन् । ओलीको सत्ता यात्राले निरन्तरा पाए मुलुकको भविष्य संकटमा पर्छ ।

संघीय संसददेखि सातमध्ये ६ प्रदेशमा आफ्नै पार्टीको स्पष्ट दुई तिहाईदेखि बहुमतको सरकारलाई खुइल्याउन ओलीकै अहंकार कारक बन्यो । उनले नेकपा विभाजनको ढोका खोलेर शुरुमा आफैलाई अल्पतमा पार्ने वातावरण बनाए । प्रदेशहरुमा पनि धमाधम सरकार अल्पमतमा पर्न थाल्यो ।

संघ, प्रदेशहुँदै स्थानीय तहमा दरिलो प्रभाव बनाएर विकासका दृष्टिमा कायापलट नै गर्न सक्ने अवसर खेर फालेर ओली पार्टी भत्काउन, देशको राजनीतिक प्रणालीलाई बिगार्न र जनताले संघर्ष गरेर ल्याएको उपलब्धिलाई समाप्त पार्नेतर्फ बढे । यसमा सल्लाहकारको खोल ओढेका विदेशी एजेन्टहरु सहयोगी भइरहे ।

नग्न हिंडिरहेको महाराजलाई उनका चाटुकारहरुले कति राम्रो सुहाएको भनेर अन्धभक्त देखाएको जसरी उनीहरु लागिरहे । ओलीको शक्ति उनकै कारणले क्षय भइरह्यो । देश राजनीतिक र आर्थिक रुपमा रसातलमा धकेलिइरह्यो । तर, ओली गलत तथ्यांकसहित अदुरदर्शी शैलीमा आफ्नै हठमा रुमल्लिइरहे ।

देश कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको छ । सीएनएन, बीबीसीलगायत विश्वका प्रतिष्ठित मिडियाले नेपालको भयावह अवस्थाबारे खबर प्रसारण गरिरहेका छन् । अस्पतालहरु कोभिड १९ का विरामीले भरिइसकेका छन् । विरामी अस्पतालको गेटबाहिर ज्यान गुमाउन वाध्य छन् । अक्सिजन अभाव भएको छ ।

कोभिड १९ को उपचारमा प्रयोग हुने रेम्डेसिभिर कालोबजारीमा विक्री भइरहेको छ । महामारीमा लकडाउन गरेरै दायित्व पूरा भएको ठान्दा मूल्यवृद्धि आकाशिएको छ । खाने तेलको मूल्य एकै वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भयो । तर, ओली कोरोना भाइरस नियन्त्रण गर्छु भन्दै सत्ताको खेलमा समय बिताइरहे ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन खरिदमा कमिशनको खेलबारे स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठील ेनै सनसनीपूर्ण खुलासा गरे । ३५ करोडको कमिशनको लोभमा बालुवाटारसँग जोडिएका व्यापारीहरुले देशमा भ्याक्सिनको १० लाख डोज छिर्नबाट रोकेको छिपेको छैन ।

विश्वासको मत लिने क्रममा ओलीले त्यसको बचाऊ गरे । उनले नभएको ‘कनेक्शन’ देखाइएको टिप्पणी गरे । केही करोड कमिशनका लागि जनताको जीवनसँग खेल्ने मानवताविरोधीहरु बालुवाटारमा हावी छन् भन्ने यो घटनाले पुष्टि गरेको छ । समयले यसको यथार्थ अझ उदांगो बनाउने नै छ ।

महामारीको दोस्रो लहर निकै भयावह हुने विषय चिनियाँ विज्ञहरुले आँकलन गरेका छन् । नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने र अर्थतन्त्र रसातलमै पुग्ने भनिएको छ । महामारीपूर्वको अवस्थामा पुग्न १० देखि १५ वर्ष लाग्ने ग्लोबल टाइम्सले विज्ञहरुको भनाईसहित उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरुले भयावह अवस्था र यसले आर्थिक क्षेत्रमा पार्ने घातक प्रभावबारे उल्लेख गरिरहँदा ओली भने तथ्यहीन जिद्दीमा रमाइरहेका छन् । कोरोना महामारीको पहिलो इनिङमा ओली ‘बेसारे शास्त्र’मा मस्त थिए । ध्यान सत्तामै थियो । आज कोरोनाको दास्रो लहरले देश आक्रान्त हुँदा पनि ओली सत्ताकै खेलमा छन् ।

देश महामारीमा लडिरहँदा ओली अवैधानिक र असंवैधानिक तरिकाले शक्तिको अभ्यास गर्नमै केन्द्रित भए । विश्वासको मत लिन समय तोकिइसकेको अवस्थामा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर नियुक्तिको सिफारिश गरे । उनको यो कदममा भागवण्डासहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहभागी भए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी राणाको संवैधानिक परिषद्को बैठकमा भएको सहभागितालाई असंवैधानिक भन्छन् । उनले संविधानको रक्षक नै भक्षक भएको टिप्पणी गर्दै महाभियोग लगाउनुपर्नेमा जोड दिएका छन् ।

यसअघि राष्ट्रिय मानवअधिकार आयोगमा भएका नियुक्तिबारे संयुक्तराष्ट्रसंघले प्रश्न उठाइसकेको अवस्थामा फेरि संवैधानिक परिषद्को बैठक सेटिङ मिलाएर गर्ने र नियुक्ति गर्ने गतिविधि भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बहिष्कार गरेको बैठकमा ओलीले राणासँग सेटिङ मिलाएर नियुक्ति गरेपछि गलत नजिर स्थापित भएको छ ।

यसले संविधानमा भएको संवैधानिक निकायमा नियुक्तिको व्यवस्थालाई ठाडो चुनौती दिएको छ । ओली निरंकुशताको सहयोगी राणा बनेका छन् । यो नेपालको राजनीतिलाई विधि विधान र नैतिक मूल्य मान्यतामा चलाउने भन्दा खेलोमेलो र षड्यन्त्रमा पार्ने नियत सिवाय केही होइन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसदको रोष्टममा उभिएर भनेजस्तै ओलीका कारण कम्युनिस्ट आन्दोलनमा संकट, संविधानमा संकट, देश र राष्ट्रिय स्वाधिनतामा संकट आएको छ । प्रचण्डले चुनौतीका साथ भनेका छन्– ‘राष्ट्रिय समस्या म हो कि तपाईँ बहस गरौं ।’

ओलीले विगत एक वर्षयता जे जस्ता असंवैधानिक हुँदै अराजकतातर्फ देशलाई धकेले यसले उनी राष्ट्रिय समस्या हुन भन्ने पुष्टि गर्छ । यो समस्याले देशलाई राजनीतिक र आर्थिक रुपमा रसातलमै पुर्याउने खतरा बढ्यो ।

प्रतिक्रिया दिनुहोस्