Logo
Logo

आईसियु बेड पर्खदा पर्खँदै पाँच संक्रमितले ज्यान गुमाए


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका हुन् । उनीहरुको कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बस्दाबस्दै ज्यान गएको हो ।

मंगलबार इमर्जेन्सीमा भर्ना भएका तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६ः३५ बजे र वैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७ः५२ बजे र वैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५ः५२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल–६ का ४४ वर्षीय पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालको एचडीयूमा मंगलबार साँझ ७ बजे मृत्यु भएको उनले जानकारी दिए ।

डा. गौतमले संक्रमितको चाप बढेपछि अस्पतालमा आईसीयू र एचडीयू दुवै थरी बेड भरिभराउ भएकाले अक्सिजन नभइ नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था रहेको बताए । रुपन्देहीमा हालसम्म २९९ संक्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्