काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठन गर्न दिएको तीन दिनको समय सकिनै लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेको समय बिहीबार ९ बजे सकिँदैछ ।

यसैबेला जनता समाजवादी पार्टी (जसपा)को दौदधुप बढेको हो । विशेषगरी जसपाका एउटा पक्ष अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महता भेटघाट र छलफलको चटारोमा छन् । उनीहरु बुधबार राष्ट्रपति भेट्न शीतल निवास पुगे । शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा गएर प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेको स्रोतको भनाइ छ ।
उनीहरूले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।
जसपाको उपेन्द्र यादव–बाबुराम पक्ष विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा रहेका ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेका थिए । अर्को पक्षले विपक्षमा मतदान गरेको थियो । ठाकुर पक्ष आधिकारिकताको विषय उठाएर विपक्षीलाई बहुमत पुग्न नदिने रणनीतिमा लागेका छन् ।












