काठमाडौं । नेकपा एमालेमा आन्तरिक विवाद समाधान गर्न कार्यदल गठन हुने भएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीभित्रको विवाद समाधानका लागि शनिबार कार्यदल गठनको तयारी गरेका हुन् ।

यसअघि शुक्रबार नै विवाद कार्यदल गठन गर्ने तयारी गरिएको थियो । तर, कार्यदल को र कति सदस्यीय रहने भन्ने विषय टुंगो कार्यदल बन्न सकेन । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला माधव नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउन र सोही आधारमा समाधान खोज्न ओली सहमत भएका थिए । सो सहमतिसँगै विवाद मत्थर भएको छ ।
नेताहरुका अनुसार कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने छ ।
माधव नेपाल पक्षले कार्यदलमा माओवादीबाट एमालेका प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लाई कार्यदलको सदस्यमा राख्नु नहुने पक्षमा रहेको छ । तर, अध्यक्ष ओलीले हरेक बैठकमा बादललाई सहभागी गराउँदै आएका छन् । शुक्रबार ओली र माधव पक्षको बैठकमा समेत बादल उपस्थित भएका थिए । त्यससँगै कार्यदल गठन रोकिएको थियो ।
नेकपा एमाले माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको शनिबार पनि बैठक बसेको छ । बैठकले केन्द्रीय सदस्यहरुले जेठ दुईमा फर्किंदा त्यस बेलाका सबै संरचनाहरु यथावत रहनुपर्ने र त्यसपछिमात्रै कार्यविभाजनमा छलफल अघि बढाउनुपर्ने सुझाव दिएको माधव पक्षका एक नेताले बताए ।
यसअघि अध्यक्ष ओलीले आफूलाई साथ दिएका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरुलाई समेटेर माधव नेपाल पक्षलाई जिम्मेवारीविहीन बनाएका थिए ।
एमालेले बिहीबार नै कार्यदल गठन गरिसकेको हो । तर, आन्तरिक विवादकाकै कारण कार्यदलका सदस्यहरुको नाम सार्वजनिक गरेको छैन । बिहीबार नै गठन भएको कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल छन् भने नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य छन् । बाँकी दुई सदस्य थपेर आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।











