Logo
Logo

कोभिडसँग लड्न नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लूएचओ


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को महामारीसँग लड्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस

शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारतमात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता देशहरूमा समेत संक्रमण बढिरहेको र अस्पतालहरुमा भर्ना ह्वात्तै बढेको बताए ।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि संक्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग लड्न उच्च संघर्षको अवस्थामा रहेको बताए । डा. गेहब्रेयससले भने, ‘डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ ।’

तर, यता नेपाल सरकारका वरिष्ठ स्वास्थ्य अधिकारीले भने आपत्कालीन सहयोग आवश्यक रहेको भन्ने धारणा ‘डब्ल्यूएचओको मात्र भएको र नेपाल सरकारले अहिलेसम्म त्यस्तो नठानेको र सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको’ बीबीसीलाई बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमित सङ्ख्या बढिरहेको देखेर डब्ल्यूएचओको त्यस्तो मूल्याङ्कन आएको हुनसक्ने उनको भनाइ छ । के सङ्क्रमितको सङ्ख्या बढ्नु आपत्कालीन अवस्था देखिनका लागि एउटा आधार होइन र ? डा. गौतमले भन्छन्, ‘सङ्क्रमितको सङ्ख्या जसरी बढेको थियो, पाँच दिनयता स्थिर छ। शुक्रवार केही घटेको छ । एक सातामा अझ कम हुन्छ होला ।’

गौतमले यस बीचमा विशेष अवस्था भनेर डब्ल्यूएचओसँग कुनै विशेष सहायता नमागिएको समेत स्पष्ट पारे । उनले भने, ‘डब्ल्यूएचओले त्यस्तो ठानेको भने उसको औपचारिक भनाइ आएपछि सरकारले त्यसबारे आवश्यक निर्णय गर्नेछ ।’ (नेपाली बिबिसीबाट)

प्रतिक्रिया दिनुहोस्