Logo
Logo

देउवाले गृह जिल्लामा स्वास्थ्य सामग्री पठाए


दृष्टि संवाददाता


अमरगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छनु ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि देउवाले सङ्क्रमणको जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा स्वास्थ्य सामग्री डडेल्धुरा पठाएका हुन् ।

सभापति देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्य सामग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शुक्रबार विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरे ।

सभापति देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेससहित १५ थान, बेडलकर १५ थान, आइभी स्टेण्ड १५ थान, पिपिई ८५ थान, केही थान सर्जिकल मास्क र केही आवश्यक औषधि रहेका छन् ।

आवश्यकतानुसार विपद् व्यवस्थापन समितिले स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमार्फत वितरण गर्ने छ । पहिलो चरणमा स्वास्थ्य सामग्री जिल्ला पुगेको र अन्य सामग्री पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिति प्रमुख भट्टले बताए । गत वर्ष बन्दाबन्दीमा खाद्यान्न पठाएका देउवाले यस वर्ष स्वास्थ्य सामग्री पठाएका हुन् ।

सङ्घीय सरकार मातहातमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति कम रहेको र अक्सिजन प्लान्टको पनि स्तरोन्नति नगरिएकाले यसको उचित व्यवस्थापनका लागि प्रयास भइरहेको उनले बताए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा आइसोलेशन तयार पारिएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि १६ शय्याको आइसोलेशन बनाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले गत साता आइसोलेशन बनाउन तीव्रता दिन जोड दिएपछि अस्पताल बाहिर अहिले दुई स्थानमा आइसोलेशन बनेका छन् । कांग्रेस पार्टी कार्यालय किसुनजी भवन र रेडक्रम भवनमा आइसोलेशन बनाई सञ्चालनमा ल्याइएका छन् ।
नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखा भवनमा दुई/तीन दिनभित्रै १० शय्याको आइसोलेशन सञ्चालनमा आउने गरी काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्