Logo
Logo

मोदीको चुनावी अस्त्र : ‘हो म पनि चौकीदार’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ चैत । छिमेकी देश भारतमा चुनावको दिन नजिकिँदै छ । यतिबेला विभिन्न चुनावी प्रचारका टिवस्टहरु आउन थालेका छन् ।
केही दिनअघि मात्र आम आदमी पार्टीकी सांसद अलका लाम्बाको एउटा यस्तो ट्वीटमा लेखिन्, जसले नेपाल र भारतमा हंगामा ल्यायो । लाम्बाले ‘चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ’ भन्दै भारतमा अब हुने चुनावमा सक्षम नेता चुनिनुपर्छ भन्ने ध्येय ट्विट लेखेकी थिइन् । तर, त्यो ट्विटले नेपालीमाथि अपमान गरेको भन्दै सामाजिक सञ्जालमा प्रतिवाद भयो । उनले आफ्नो आशय त्यो नभएको भन्दै लाम्बाले माफी मागिन् ।
लाम्बाले माफी मागेपछि पनि उक्त विषय भारतमा साम्य भएको छैन किनकि त्यो एउटा चुनावी ट्वीस्ट हो । भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन गइरहेको छ । जसले गर्दा पनि लाम्बाको त्यो ट्विट दिनदिनै हिट हुँदै गएको छ ।
यसै सन्दर्भमा बिबिसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीले लेख पनि लेख्न भ्याए । जोशीको आफ्नो लेखमार्फत लाम्बालाई गतिलो जवाफ त दिएका छन् नै, साथै, नेपालप्रति अपमान कसैलाई गर्ने अधिकार नभएको आशय पनि व्यक्त गरेका छन् । बिबिसीका सम्पादक जोशीको लेख यस कारण फेरि चर्चामा आएको छ, जबकि शनिबारबाटै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को ‘म पनि चौकीदार’ अभियानको सुरुवात गरेका छन् ।
सम्पादक जोशीको लेखमा यसो भनिएको छ, ‘लाम्बाको ट्विटमा ध्यान केन्द्रीत गर्नुहोस् । अर्थ निस्कन्छ, हामी मालिक हौँ, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट पनि जे पनि मगाउन सक्छौँ । र, नेपालबाट चौकीदारबाहेक अरु के नै मगाउन सकिन्छ र ।’
यसरी एक जना सांसदको ट्विटले मिडियामा यति धेरै स्थान पाएको सम्भवः यो पहिलो हुनसक्छ । उक्त ट्विटको आशयले भारतीय प्रधानमन्त्रीको पनि मन छोएको हुनुपर्छ । त्यसैले नै उनले ‘म पनि चौकीदार हुँ’ भन्ने अभियानमा लागे । यो एउटा चुनावी रणनीति पनि हो ।
‘तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्’ उनले भनेका छन् । प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै भारतका सबै नागरिकले ‘म पनि चौकीदार हुँ’ भन्ने गरेको बताए ।
अघिल्लोपटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गरेका हुन् ।
चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरेझैँ आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाइ छ । काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले ‘चौकीदार चोर भयो’ भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले ‘म पनि चौकीदार’ अभियान उनले सुरु गरेका हुन् ।
सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको अधिकारीहरुले जनाएका छन् । यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई ‘चियावाला’को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो । यसपटक मोदीले चुनावी अस्त्रका रुपमा ‘चौकीदार’ लाई अगाडि सारेका छन् । यसले कतिसम्म काम गर्छ, त्यो भने हेनै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्