Logo
Logo

नाष्टको अक्सिजन सिलिण्डर उत्पादन परीक्षण सफल

अब नेपालमै अक्सिजन सिलिण्डर उत्पादन गर्न सकिने


दृष्टि संवाददाता


ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन परीक्षण गरेको छ । देशभर अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डर परीक्षणको शुभारम्भ गरेका थिए।

अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालका अनुसार सुरक्षाको अन्तिम उपाय अबलम्बन पछि केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यवसायिक उत्पादन गर्न अनुमति दिइनेछ ।

नेपालमा पाइने सिलिण्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नाष्टका उपकुलपति डा .सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यावाद दिएका थिए ।

उनले भने,‘नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्यानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गरेको छ । अब सिलिण्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रबिधिको सफल परीक्षण गरेर महत्वपूर्ण काम गरेको छ ।’

ग्याँस सिलिण्डरमा ग्याँसको दवाव २ सय २५ बारसम्म भए सुरक्षित रहन्छ । ‘परीक्षण गर्दा ग्याँसको दवाव २ सय ३५ बार सम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो । त्यसैले अन्तिम परीक्षण गर्न बाकी छ ।

नेपालमा यस्तो सिलिण्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिण्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन । नाष्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यानतयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए । उनले नाष्टले कोभिड नियन्त्रणकोलाई महत्वपुर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाईने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्