Logo
Logo

राष्ट्रिय फुटबल टोली जेठ ११ गते इराक जाने


दृष्टि संवाददाता


काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली जेठ ११ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम जेठ ११ गते टोली इराक प्रस्थान गर्ने जनाएको हो ।

नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए । प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् ।

टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ बाहिरिएका छन् । सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्