
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।
सीसीएमसीले काम गर्न नसकेको भन्दै खारेज गरेर कानुनले चिनेको प्रधानमन्त्री नेतृत्वको विपद व्यवस्थापन समिति या गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिँदै माओवादीले सीसीएमसी खारेज गर्न माग गरेको हो ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए । माओवादी केन्द्रले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन समेत माग गर्ने निर्णय गरेको छ ।
माओवादीले कोभिड नियन्त्रण तथा रोकथाममा सिंगो पार्टी पंक्ति परिचालन गर्ने समेत निर्णय गरेको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड नियन्त्रण युनिट गठन गरेको माओवादीले सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडाहरूमा ५ दिनभित्र कमिटीहरु गठन गरेर कोभिडविरुद्ध काम गर्ने भएको छ ।











