Logo
Logo

सरकार-जसपाबीच संविधान संशोधन गर्ने सहमति


दृष्टि संवाददाता


काठमाडौं । जसपाका नेता राजेन्द्र महतोले आफूहरु सरकारमा नजाने बताएका छन् । उनले आफ्नो माग सम्बोधन गर्ने प्रधानमन्त्रीलाई समर्थन गर्ने बताउँँदै जसपा सरकारको दौडमा नरहेको बताए ।

जसपाकै उपेन्द्र यादव पक्षका नेताहरुले समेत अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेको र त्यसमा नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत सहमति जनाइरहेका बेला महतोको यस्तो भनाइ आएको हो ।

सरकारसँग जसपाको संविधान संशोधन गर्ने सहमति समेत भएको छ । शुक्रबार सिंहदरबारमा सरकारसँग बसेको बैठकमा जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो पक्षबीच संविधान संशोधन कार्यदल बनाउने सहमति भएको हो ।

सहमतिअनुसार सरकारी पक्षबाट विष्णु रिमाल, अग्नि खरेललगायत र राजपाको तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालगायत रहेका छन् । कार्यदलले विभिन्न पक्षहरुसँग छलफल गरेर संविधान संशोधनका विषयमा प्रतिवेदन दिने महतोले बताएका छन् ।

आफू पक्षीय संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै महतोले प्रधानमन्त्री केपी शर्मा ओली आफूले उठाएको माग र मुद्दा सम्बोधन गर्न तयार रहेको बताए ।

उनले आफूले उठाएको माग सम्बोधन गर्दै नागरिकतासम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री ओली सहमति भएको पनि बताए । मधेस आन्दोलनका क्रममा पक्राउ परेका १ सय २० जनाको मुद्दा फिर्ता लिएको र अन्य बन्दीहरुको विधि प्रक्रिया पूरा अन्य साथीलाई छोड्ने सहमति भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्