Logo
Logo

संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले आफूअनुकूल प्रयोग गरे : देउवा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान बमोजिम राष्ट्रपतिले तत्काल आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा इन्कार गरेको भन्दै विरोध जनाएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले अल्पमतमा परिसकेका केपी शर्मा ओलीले निरन्तरता दिएको भन्दै संविधानको भावनाअनुसार ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने बताएका छन् । उनले बहुमत देखाउन नसक्ने स्वयंम घोषणा गरिसकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम राष्ट्रपतिले गरेको बताएका छन् ।

संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा आफूअनुकूल प्रयोग गरेको देउवाको आरोप छ । गणतन्त्र, संविधानको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने प्रतिवद्धतासमेत देउवाले जनाएका छन् ।

शुक्रबार मध्यराति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्